मेयर शाक्यद्वारा पचासौँ पटक रक्तदान, लकडाउनले रगत पाउनै मुस्किल

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गर्नुभएको छ । यस अघि ४९ पटक रक्तदान गर्नुभएका प्रमुख शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गर्नुभएको हो । ‘

यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै आएको छु । यो मेरो ५० औँ पटकको रक्तदान हो’ उक्त वडाका स्थानीय वासिन्दा समेत रहनु भएका शाक्यले भन्नुभयो, ‘क्लवले ०४४ सालदेखि नियमित रक्तदान गर्दै आएको छ । अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान हो । त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु । यो त्यसैको निरन्तरता हो ।’

उहाँले सरकारले कोरोना भाइरस रोग ९कोभिड–१९० को रोकथामका लागि चैत ११ देखि लागू गरेको लकडाउन अहिले पनि जारी रहेको भन्दै लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको बताउनुभयो ।

‘लकडाउनका कारण विभिन्न संघ–संस्थाले पनि रक्तदानका कार्यलाई स्थगन गर्नुपरेको र रक्तदाताले पनि रक्तदान नगरेका कारण केन्द्रीय रक्तसञ्चार सेवा ९ब्लड बैंक० मा रगत अभाव हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर श्री गणेश युवा क्लबले गरेको रक्तदान कार्यक्रमले धेरै विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकारले पनि लकडाउनका बेला रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रगत संकलनको गर्ने गरेको जानकारी दिनुभयो । ‘आज काठमाडौँ महानगरपालिकाको वडा–२१ को गणेश युवा क्लबमा गरिएको रगत संकलन पनि त्यसैको निरन्तरता हो,’ राजकर्णिकारले भन्नुभयो, ‘रक्तदान गर्दा सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले मात्रै रक्तदान गर्न सक्ने व्यवस्था गर्दै आएका छौँ । आज पनि ती सबै उपाय अपनाएर रगत संकलन गरेका छौँ ।’

लकडाउनको पूर्ण पालना गर्दै रगत दान गर्न सकिने उहाँको सुझाव छ । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसरलगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै हामीले रगत लिने गरेका छौँ । आज पनि हामीले ती सबै विधि अपनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘रक्तदान गर्नु अघि सबैले हात साबुन–पानीले धुने, सेनेटाइजर प्रयोग गर्ने, एक–एक गरी भित्र लैजाने गरेका थियौँ ।’

उहाँले जिल्ला–जिल्लामा संक्रमितको संख्या बढीरहेको तर्फ पनि ध्यान दिएर जिल्ला–जिल्लाबाट भर्खर आएका, विदेशबाट आएका र उनीहरुको सम्र्पकमा रहेकाहरुलाई सहभागी नगराउने गरेको जानकारी दिनुभयो । ‘हामी सबैको रगत संकलन गर्दैनौँ,’ राजकर्णिकारले भन्नुभयो, ‘लकडाउन जारी भएकै ४० दिन कटिसकेको छ । यसलाई समेत ख्याल गरेर हामीले रगत संकलन गर्दै आएका छौँ । गणेश युवा क्लबले यी सबै कुराको पालना गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु नै सहभागी भएर यसरी ५० औँ पटक रक्तदान गर्दा खुशी लागेको छ । यसरी स्वस्थ्य व्यक्तिले रगत दानमा सहयोग गर्ने हो भने लकडाउनका बेला पनि रगत अभावको समस्या भोग्नु पर्ने थिएन ।’गणेश युवा क्लवका सचिव अनन्त शाक्यले पनि सकेसम्म सबै मापदण्ड पूरा गरेर रक्तदान कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आज ८० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने सबै स्थानीय हुन् ।