धुलिखेल नगरपालिकामा कृषकलाई अनुदान


मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रमा संकट निम्त्याएको अवस्थामा स्थानीय सरकारले आत्मनिर्भर, रोजगार र उत्पादनमुखी कार्यक्रममा जोड दिन थालेका छन् ।

धुलिखेल नगरपालिकाले चालु वर्षमै खर्च गर्ने गरी बजेटलाई कृषकमुखी बनाईएको छ भने आउँदो वर्षको बजेटलाई उत्पादनमुखी, रोजगारमुखी बनाउन छलफल शुरु भएको छ । मुलुकको अर्थतन्त्रमा गिरावट आउने र खाद्यान्न अभाव हुने संकेतहरु देखिन थालेपछि धुलिखेल नगरपालिकाले तत्कालिन र दिर्घकालिन योजनाहरु तय गरी कार्यान्वयन शुरु गरेको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि खेतियोग्य जमिनमा खेति गर्न चाहने कृषकहरुका लागि १२ टन खुमलचार धानको विउ कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै १ हजार ५ सय घर धुरीका लागि तत्काल तरकारी खेति गरी आत्मनिर्भर बन्न र ब्यवसायीक प्रयोजनका लागि समेत खेति गर्न सहज हुने गरी तरकारीका विउहरु निशुल्क वितरण गरिएको छ ।

कृषि प्रणालीलाई आधुनिकिकरण गर्न नगरपालिकाले यस अघि दिएका औजारहरुको भरपुर उपयोग गर्न र थप औजारहरु मागका आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ । भएको जनशक्तिलाई कृषि तथा पशुपालनमा आर्कषण गर्ने गरी वडा वडामा कृषि प्राविधिकको ब्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।

नगर प्रमुख अशोक कुमार ब्यान्जुको अध्यक्षतामा बसेको बैठकले आगामी बर्षको बजेट तथा कार्यक्रम र स्वास्थ्य, शिक्षा, कृषि जस्ता प्राथमिकताको क्षेत्रमा गरिने कार्यक्रमको मोडालिटी सम्बन्धमा सम्बन्धित समिति प्रमुख तथा शाखा प्रमुखसंग छलफल गरेको छ । चालु आर्थिक वर्षको योजना र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजनामा तथा निति कार्यक्रममा भिन्नता आउने भन्दै नगरपालिकाले छलफललाई प्राथमिकता दिएको हो ।

नगर प्रमुख ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र समस्या समाधानमा केन्द्रित हुने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । चालु आर्थिक वर्षमा चालु रहेका कतिपय योजनाहरु फेरबदल हुन सक्ने बताउँदै नागर प्रमुख ब्याञ्जुले विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बलदिलन सक्ने बताउनु भयो ।

‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो – ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणको बजेट तथा नगरले अबको समयमा लिनुपर्ने नीति कार्यक्रमकाबारे छलफल सुरु गरेका हौँ ।’

कोरोना महामारीपछि देशले ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो– ‘हरेक स्थानीय तहहरुले आगामी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ तथा नागरिकको दैनिक समस्यालाई समाधान गर्दै नागरिकलाई सुशुचित गराउन आवश्यक छ ।’