विराटनगरबाट ६ संक्रमित जमाती निको भएर फर्किए

0
Shares

सरोज यादव,विराटनगर ।

विराटनगरमा उपचाररत कोभिड १९ का ६ जना भारतीय संक्रमित निको भएका छन । तीनपटकसम्म गरिएको स्वाब परीक्षणमा निगेटिभ रिपोर्ट आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको हो । विराटनगर १० स्थित कोशी अस्पताल कोभिड उपचार केन्द्रमा बैशाख ६ यता उपचाररत रहेका विरामीमध्ये ६ जना निको भएका हुन ।

निको भएकाहरुलाई बुधबार औपचारीक कार्यक्रमको आयोजनागरि उपचारकेन्द्र परिसरबाट बिदाई गरिएको छ । विरामीहरुलाई पुष्पगुच्छा दिंदै सुस्वास्थ्यको कामनागर्दै विदाई गरिएको हो । उपचार केन्द्र परिसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचाररत अन्य विरामीहरुको अवस्था समेत राम्रो रहेको र अब डिस्चार्ज हुने क्रम शुरु भएको बताउनुभयो ।

चिकित्सक स्वास्थ्यकर्मी सहितका ७२ जनाको टोलीले दिनरात अनवरतरुपमा प्रदान गरेको सेवाबाट विरामीहरु लाभान्वित हुन सफल भएको उहाँको भनाई थियो । कोरोनाको संक्रमण देखिएपछि उदयपुरबाट बैशाख ५ गते राति विराटनगर ल्याइएका १२ जना विरामीमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन । उनिहरु सबै भारतको दक्षिणी दिल्लीका बासिन्दा हुन ।

डिस्चार्ज भएर बिदा हुनुअघि बोल्दै ६ जना मध्येका एकले अत्यन्त राम्रो र सहयोगि वातावरणमा आफुहरुले उपचार पाएको बताएका थिए । भारतमा समेत लकडाउन जारी रहेकाले हालकालागि कोभिड उपचार केन्द्रबाट डिस्चार्ज भएकाहरुलाई एम्बुलेन्समा राखेर विराटनगर १५ स्थित रानी मर्कजमा लगेर राखिएको छ ।

उनिहरुलाई त्यहाँ छुट्टै कोठामा आईशोलेसनमा राखिने र १४ दिनपछि फेरी एक पटक स्वाब परीक्षण गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताउनुभयो । विरामीहरु सफल उपचार पाइ निको भएर फर्किनु सिंगो टिमकालागि सुखद बिषय रहेको उहाँको भनाई थियो । ६ जना विरामी निको भएर फर्किएपछि हाल कोभिड उपचार केन्द्रमा २५ जना विरामी उपचाररत छन । ती विरामीहरुमा उदयपुरबाट ल्याइएका भारतीयका साथै भोजपुर र झापाका छन । उनिहरुको अवस्था समेत सुधारात्मक रहेको कोभिड उपचार केन्द्रले जनाएको छ ।