विभागले अगाडि बढायो लकडाउनले रोकिएका ठूला आयोजना

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

शहरी विकास तथा भवन निर्माण विभागले लकडाउनको कारण स्थगित भएको ठूला आयोजनाहरुको काम पुनः सुचारु गरेको छ । सरकारले ठूला आयोजनाहरु अगाडि बढाउने नीति अन्तर्गत विभागले स्थगित भएका ठूला आयोजना अगाडि बढाउन निर्माण व्यवसायीहरुलाई निर्देशन दिएका हो । विभागले संघीय संसद भवन, वालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्री क्वार्टर, प्रदेश प्रमुखको निवासको काम पुनः सुरु गराएको छ । एक महिना स्थगित भएको काम निर्माण व्यवसायीले सुचारु गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाले लकडाउनको कारण एक महिनासम्म स्थगित भएका विभाग अन्तर्गतका ठूला आयोजनाहरुको काम अगाडि बढाइएको बताउनुभयो ।

उहाँले न्युज अफ नेपालसँग भन्नुभयो,‘सरकारको निणर्य अनुसार स्थगित भएका ठूला आयोजनाको काम अगाडि बढाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छौ, निर्माण व्यवसायीलाई यस बीचमा आइपर्ने समस्याको सहजिकरण पनि गरेका छौं ।’ उहाँका अनुसार संघीय संसद भवन, प्रधानमन्त्री निवास मन्त्री क्वार्ट, प्रदेश प्रमुखको निवास, दमकको भ्यु टावरको काम अगाडि बढाइएको छ ।

महानिर्देशक गेलालले भन्नुभयो,‘विभाग अन्तर्गत रहेका ठूला आयोजना अगाडि बढाउन निर्देशन दिएका छौ, सामाजिक दुरी कायम गरेर काम गर्न भनेका छौं ।’ आयोजना अगाडि बढाएसँगै सरकारले तय गरेको मापदण्डलाई पनि पूर्ण रुपमा पालना गर्न आग्रह गरेको बताउदै उहाँले एक महिना स्थगित भएपनि अब कामलाई तीब्रता दिनुको विकल्प नभएको बताउनुभयो । महानिर्देशक गेलालका अनुसार देशभर विभाग अन्तर्गत ५० वटा भन्दा बढी ठूला आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

विभागले लकडाउनको अवधिमा पनि ठूला आयोजनाहरुको अनुगमन गर्दै कलडाउनको कारण प्रभावित बनेका आयोजनाहरुलाई कसरी समयसीमाभित्र सम्पन्न गर्ने भन्ने योजना तर्जुमा गर्न जुटेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्गर्त गरहेको विशेष भवन निर्माण आयोजनाका सिडिई प्रर्किण तुलाधरले संघीय संसद भवनको काम पुनः सुरु भएको बताउनुभयो । उहाँले भन्नुयभो,‘निकै तीब्र गतिमा काम अगाडि बढेको थियो, लकडाउनको कारण एक महिना स्थगित भएको काम अहिले अगाडि बढएका छौ, सुरुमा चार सय कामदार थिए, अहिले निर्माण व्यवसायीले कामदार ल्याएर काम अगाडि बढाएका छ ।’

त्यसैगरी विशेष भवन निर्माण आयोजनाका सिडिई प्रमोद कमाचार्यले प्रधानमन्त्री निवास, मन्त्री क्वार्टर र प्रदेश प्रमुखको आवास निर्माणको काम पुनः सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘अहिले थोरै कामदार भएपनि निर्माण व्यवसायीले काम अगाडि बढाएका छन, हामीले सरकारले तोकेको मापदण्डलाई पालना गर्दै थप जनशक्ति सहित काम गर्न आग्रह गरेका छौं ।’