पत्रकार भोम्जनको स्मृतिमा वृद्धाश्रममा भोजन

0
Shares

न्युज अफ नेपाल, हेटौंडा । 

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मञ्चको हेटौंडा समन्वय शाखा संस्थापक अध्यक्ष खेलपत्रकार सुमन भोम्जनको निधन भएको पाँच वर्ष पुगेको छ । २०७२ सालको भुकम्पमा परेर उनको काठमाडौंमा निधन भएको थियो ।

उनको निधनबाट एक होनाहार युवा पत्रकारलाई खेलकुद क्षेत्रले सदाका लागि गुमाएको थियो । उनको स्मृतिमा मञ्चको समन्वय शाखा हेटौंडासँगको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले भोम्जनको जन्मस्थान हेटौंडामा रहेको बृद्धाश्रममा भोजन गराएको छ । हेटौंडा २, चौकीटोलस्थित ओम बृद्धाश्रममा बृद्धलाई भोजन गराइएको छ ।

हेटौंडा शाखा अध्यक्ष राजन दाहाल, मृतक भोम्जनकी आमा बिमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका हेंटौडेली स्ट्राइकरद्वय रञ्जन बिष्ट र अञ्जन बिष्टसहितको टोली आश्रममा पुगेर आश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललाई १० हजार रुपियाँ हस्तान्तरण गरेको थियो । बृद्धाश्रमका ४० बृद्धा छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) ले एक होनाहार युवा खेलकुद पत्रकार भोम्जनको अभाव सधैँ खेलकुद क्षेत्रमा रहने बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा भोम्जनको वार्षिक पुण्यतिथिमा स्मृतिसभा गर्दै आएको थियो ।

तर, यस वर्ष विश्वब्यापी कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी भएकोले केन्द्रमा कार्यक्रम गरिएन । मञ्चका पूर्व सदस्यसमेत रहेका भोम्जनको स्मृतिमा मञ्चले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भोम्जन भुकम्प गएको दिन काठमाडौंको असनछेऊको डेराको भुईंतलामा पुरिएका थिए । भुकम्पको ८ दिनपछि उनी भेटिएका थिए । उनको शव बैशाख १९ गते भेटिएकोले मञ्चले १९ गते वार्षिक पुण्यतिथि मनाउने गरेको हो ।

काठमाडौंको महावौद्धस्थित डेरामा बस्दै आएको घर भत्केर पुरिँदा भोम्जनको निधन भएको थियो । २०६४ सालबाट हेटौंडामा पत्रकारिता सुरु गरेका भोम्जनले खेलकुद पत्रकारितालाई मुख्यरुपमा अँगालेका थिए । उनी काठमाडौंको नेपाल एफएमहुँदै २०६८ सालदेखि काठमाडौंमा कार्यरत् थिए ।

हेटौंडा–१० स्थायी घर भएका भोम्जनले मकवानपुरमा विभिन्न सञ्चारगृहमा काम गरेका थिए । नेपाल पत्रकार महासंघ मकवानपुरका केन्द्रीय पार्षद्समेत रहेका भोम्जन पछिल्लो समय गोरखापत्र दैनिकमा खेलकुद समाचार शाखामा कार्यरत् थिए । २०४४ जेठ २९ गते जन्मिएका भोम्जन खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष थिए ।