रेडियोबाटै एसईई तयारी कक्षा प्रसारण

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

कोरोनाको कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा स्थगित भएपछि सिन्धुलीमा सामुदायिक रेडियोहरुबाट दूरशिक्षा अन्र्तत एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम सुरु हुने भएको छ ।

जिल्लाको नौ वटै स्थानिय तह, प्लान ईन्टरनेशनल नेपाल, हेन्डस नेपाल सिन्धुलीको आर्थिक सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले यो कार्यक्रम सुरु गर्न थालेको हो । लकडाउनका कारण परिक्षार्थीहरुको परिक्षामा असर नपरोस् भनेर एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम सुरु गर्न थालिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम यही बैशाख २१ गते आईतवार देखि जेष्ठ १५ गते सम्म पहिलो चरणमा रेडियोबाट प्रशारण हुने प्रमुख गजुरेलले बताउनुभयो । सिन्धुलीका सबै ७ वटा रेडियो स्टेशनहरु र छिमेकी जिल्लाका केही रेडियो स्टेशनबाट आगामी एकै साथ दिउसो ३ बजे देखि साँझ ५ बजे सम्म यो कार्यक्रम प्रशारण हुने प्रमुख गजुरेलले बताउनुभयो ।‘परीक्षा स्थगित भएपछि परीक्षार्थीहरुको शिक्षा सिकाई क्रियाकलाप केही अवरुद्ध भएको छ ।

परीक्षाको थोरै त्रास छ । परीक्षा कहिले हुने भन्ने संका छ । यी विभिन्न कारणले गर्दा अव हुने परीक्षामा असर पुग्छ की भनेर एसईईको संघारमा रहेका विद्यार्थीहरु लक्षित गरेर यो कार्यक्रम सुरु गर्न थालेका हौं’ उहाँले भन्नुभयो । एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रममा पाँच बिषयहरु अग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीको पठनपाठन हुने उहाँले बताउनुभयो । एसईई परिक्षामा सहभागी हुने परिक्षार्थीहरुको ग्रेडबृद्धि लगाएतमा सहयोग पुग्ने अपेक्षाका साथ यस कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।‘विद्यार्थीहरुले विद्यालयमै सबै कुराहरु त पढी सकेका छन् । तर लामो समय घरमै बस्दा उनीहरुले बिर्षन सक्छन । अलमलिन सक्लान र परीक्षा बग्रन्छ की भनेर उनीहरुलाई पढेको कुरा सम्झाउन मात्रै यो परीक्षाको मडेलमै रहेर रेडियो कार्यक्रम तयार पारिएको छ ’ उहाँले भन्नुभयो ।

यसबर्ष एसईई परिक्षामा सिन्धुलीबाट ५ हजार ८ सय १३ परिक्षार्थीहरु परिक्षामा सहभागी हुदैछन् । परीक्षा स्थगित भएपछि तनावमा रहेका विद्यार्थीहरु रेडियोबाट पठनपाठन गराउन सुरु हुने भएपछि उनीहरु उत्साहित भएका छन् । कोरोना सङ्क्रमण रोकथामको लागि सरकारले ‘लकडाउन’ गरी आवागमन बन्द गरेको छ । यस्तै विद्यालय र कलेजका सम्पूर्ण शैक्षिक गतिविधि पनि बन्द गरिएको छ ।