ब्याजमा सहुलियत दिने गभर्नरको घोषणा


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण उत्पन्न परिस्थितिसँग जुध्न नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ६५औ वार्षिकोत्सवको अवसरमा नीतिगत व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।

गभर्नर अधिकारीले विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा विभिन्नखाले व्यवस्था दिलाइने जानकारी दिनुभयो ।

उहाँले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गर्नुभयो । यस्तै कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पँुजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँका अनुसार साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढंगले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ । साथै, रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइने छ ।

यस्तै उहाँले बैंकिङ क्षेत्रबाट हुने कर्जा पवाहलाइ थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ–‘कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।’
लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

 नौ महिनामा २ अर्ब ६७ करोड डलर खरिद

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको जनाएको छ । राष्ट्र बैंकको बार्षिकोत्सबमा गर्भनर महाप्रसाद अधिकारीले सो रकम खरिद गरेको बताउनुभयो । केन्द्रीय बैंकले ३ खर्ब ५ अर्ब तरलता प्रवाह गरेको छ ।

त्यसैगरी, चैतसम्म अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्रीगरी ३ खर्ब ५० अर्ब ९ करोडबराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । वैशाख ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूसँग अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड अधिक तरलता रहेको छ ।