पक्षपातपूर्ण व्यवहार



सरकारले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न लकडाउन गरेको एक महिना पूरा भएको छ । गएको चैत ११ गतेदेखि लकडाउन भएको थियो । पछिल्लोपटक थपिएको लकडाउन यही १५ गतबाट सकिँदै छ । राजधानीमा बसोबास गर्दै आएका अधिकांश नागरिक लकडाउन तोड्दै घर जान थालेका छन् । उपत्यकाबाट बाहिरिने नाका–नाकामा घर जानेको ताँती लाग्न थालेको छ ।

यति बेला आफ्ना कार्यकर्तालाई घर पु¥याउन मन्त्रीदेखि सांसद र नेताहरू बसपार्कमै पुग्न थालेका छन् । एक त सरकारले कलडाउनमा कडाइ गर्ने भनिरहेको छ भने अर्कोतिर नेताहरू आफ्ना कार्यकर्तालाई घर पु¥याउनुपर्ने भन्दै बसपार्कमै धाउन थालेका छन् । यो क्रम विगत चार दिनदेखि जारी छ । उपत्यकाबाट बाहिरिन खोज्ने जनता नेपाली नै हुन् । कसैलाई पनि भेदभाव गर्नु उचित हुँदैन ।

तर, अधिकांश मन्त्री र नेताहरूले आफँ निकटका व्यक्ति वा भोटरलाई छानी–छानी बोलाएर बस चढाएका छन् । अहिले कोटेश्वर, कलंकी, बल्खु, बालाजुलगायतका काठमाडौंका नाकामा घर जाने नागरिकको भीड लाग्न थालेको छ । मानौं, दशैंमा उपत्यका छाडेर घर जाने क्रम जारी रहेको होस् । यसरी आफ्ना कार्यकर्तालाई मात्र घर जाने व्यवस्था गर्दा स्वतन्त्ररूपमा बस्दै आएकालाई समस्या परेको छ । हरेक दिन बेलुका घर जान बसपार्क धाउने गरेका मजदुरलाई नेता आफैंले बसपार्कमा बोलाएका हुन्छन् ।

केही नेताले त सामाजिक सञ्जाल फेसबुकमा घर जानका लागि सम्पर्क नम्बर नै दिएका छन् । उनीहरूलाई लकडाउनको कुनै प्रवाह छैन । विशेष गरी सरकारनिकट पार्टीका नेता यो काममा दत्तचित्त भएर लागिरहेका छन् । बेखर्ची भएपछि उपत्यका छाड्नु स्वाभाविकै हो तर सामाजिक दूरी कायम गर्ने विषयमा कसैले ध्यान दिएका छैनन् ।

बस चढाउन बसपार्क पुग्ने गरेका नेताहरूले खान नपाएपछि के गर्ने त घर जानै प¥यो, हाम्रो कार्यकर्ता भएपछि घर पु¥याउने जिम्मेवारी हाम्रै हो भन्ने गरेका छन् । तर, यस्तो परिस्थितिमा आफ्ना कार्यकर्तालाई मात्र घर पठाउने कि सबैलाई ? सबैलाई समान व्यवहार गर्न सरकारले पहल गर्नुपर्ने हो, कसैलाई काख र कसैलाई पाखाको दोहोरो मापदण्ड दुर्भाग्यपूर्ण छ ।

दैनिक गुजारा चलाएर खाने गरेका ज्यालादारी मजदुरलाई ठूलो समस्या परेको छ । सरकारले उपलब्ध गराएको राहत सकिसकेको छ । अब कहिले पाइन्छ निश्चित छैन । घरबेटीले घरभाडा माग्न थालिसकेका छन् । उता राहत नपाएर खान भोकमरी लाग्नसक्ने अवस्था छ भने अर्कोतिर एक घरबेटीको कर्कश आवाज सुन्नुपर्ने अवस्था आएको छ ।

त्यसलाई खप्न नसकेर बाध्यताबस मजदुरी गर्न बसेका उपत्यकाका आप्रवासीहरू डेरा छाड्न विवश भएका छन् ।
सरकारले राजधानी मात्र होइन मुलुकको कुनै एक कुनामा अड्केर बसेका तर आफ्नो घर जान चाहने व्यक्तिहरू जहाँ भए पनि उनीहरूलाई सघाउनु आवश्यक छ– कि त पुग्ने राहत सामग्री दिएर पाल्नुप¥यो, कि त घर पु¥याइदिनुप¥यो । यसरी कसैलाई काख र कसैलाई पाखा गर्ने दोहोरो नीति लिनुभएन । यस त्रुटिलाई नसच्याए आज जनतालाई मात्र भोलि भोट माग्न जाने नेतालाई पनि नोक्सान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्