कीर्तिपुर महोत्सवको १ करोड विपद् कोषमा

0
Shares

सुनील महर्जन,काठमाडौं।

कीर्तिपुर नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि प्रकिया अघि बढाएको छ । संघीय सरकारले दोस्रो चरणको राहत दिने वा नदिने भनेर निर्णय नगरिसकेको बेलामा पनि नगरपालिको कार्यपालिका बैठकले निर्णय गरेर दोस्रो चरणको राहत वितरणको लागि अग्रसरता देखाएको हो । स्थानीय सरकार एेन २०७४ को मर्म र संघीय सरकारले स्थानीय तहलाई राहत वितरण कार्य सुम्पिएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले १ देखि १० वडामा राहत आवश्यक भएका परिवारको तथ्यांक संकलन गरिरहेको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले जानकारी दिनुभयो ।

तथ्यांक संकलनमा राहत आवश्यक भएका कुनै परिवार पनि नछुटून् भनेर वडा कार्यालय, नगरदेखि वडास्तरम्मका सर्वदलीय संयन्त्र गठन गरिएको छ । ” सबै पक्षको सहभागितामा तथ्यांक संकलन गरिरहेका छौं । पहिलो चरणको राहत पनि सर्वदलीय संयन्त्र मार्फत वितरण गरिएकोले राहत वितरण विवाद रहित भयो ।” उपप्रमुख खड्काले भन्नुभयो ।

दोस्रो चरणमा राहत आवश्यक परिवारको संख्या ५० प्रतिशतले बढ्ने पनि उपप्रमुख खड्काको अनुमान रहेको छ । नगरपालिका पहिलो चरणमा ४ हजार १ सय ५२ परिवारलाई राहत दिएको थियो । विभिन्न जिल्लाबाट उच्चशिक्षाका लागि कीर्तिपुरमा बसिरहेका कतिपय विद्यार्थीहरूले राहत नपाएको गुनासो सुन्नमा आएको छ नि भन्ने प्रश्नमा नगरपालिका प्रमुख रमेश महर्जनले भन्नुभयोझराहत वितरणका क्रममा वडा मार्फत र त्रिभुवन विश्वविद्यालयसंग समन्वय गरेर पनि राहत वितरण गरिएको जानकारी दिनुभयो ।

१ सय ३५ जना विद्यार्थीहरूलाई विश्वविद्यालय परिसरमा, अनलाईन फाराम भरेका ४ सय ५९ जना विद्यार्थीलाई घरघरमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार त्रि।वि महिला छात्रवासमा २० जनालाई पुग्ने र पुरूष छात्रवासमा ७१ जनालाई पुग्ने राहत वितरण गरिएको छ । राहत आवश्यक भएका विद्यार्थीले नगरपालिको अनलाईन फारम भर्न सक्ने पनि नगरपालिकाले जनाएको छ । सरकारको निर्देशन अनुसार र समस्यामा परेका सबैलाई राहत वितरणमा प्राथमिकतामा राखेको पनि उहाँको भनाई छ ।

विद्यार्थीहरूको गुनासो पनि सम्बोधन गरिसकेको प्रमुख महर्जनले बताउनुभयो । कतिपय व्यक्तिले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने सरकारको नीति नमानेको र नगरपालिकालाई जानकारी नदिई राहत वितरण गरेको पनि उहाँको भनाई रहेको छ । नगरपालिकाले हालसम्म ५१ लाख रूपैयाँ बराबर राहत बाँडिसकेको छ भने पूर्व निर्धारित कीर्तिपुर महोत्सवका लागि छुट्टयाइएको १ करोड रूपैयाँ पनि विपद् कोषमा राखिएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

नगरपालिकाले यही बैशाख १६ गतेदेखि पाँच दिनसम्म महोत्सव गर्ने भनेर गत माघमा निर्णय गरेको थियो । ” राहतको लागि संघीय सरकारको मुख नताकिकन नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म काम गर्ने छौ । संघीय सरकारले रकम दिए त राम्रै हुनेछ, नदिए पनि नगरपालिकाले राहतको लागि थप काम अघि बढाउने छ । ” प्रमुख महर्जनले भन्नुभयो ।

वाग्मती प्रदेश सरकारले राहत वितरणका लागि नगरपालिकालाई १२ लाख रूपैयाँ दिएको थियो ।काठमाडौ महानगरपालिकाले हालसम्म राहत वितरण कार्य जारी राखेको छ भने दोस्रो चरणको राहत वितरण गर्ने निर्णय अरू नगरपालिकाले गरेको छैन । यद्यपि लकडाउनको अवधि लम्बिएसंगै राहतको माग गर्ने परिवारको संख्या बढीरहेको छ ।