कोभिड-१९ को रोकथाम र उपचारमा हर्बल चिया

0
Shares

अन्तानानारिवो, (एजेन्सी) ।

विश्वभरिका कैयौं वैज्ञानिकहरु कहिले ब्लडप्लाज्मा त कहिले बीसीजी खोपमा कोरोना भाइरस संक्रमणको उपचार खोजिरहेका छन् । तर अहिलेसम्म उनीहरुलाई यसको अचुक उपचारमा सफलता मिलेको छैन ।

यसबीच माडागास्करका राष्ट्रपति एन्ड्री रेजोएलिनाले आधिकारिक रुपमा यसको हर्बल उपचार अनुमोदन गरेका छन् । यसबाट नोबेल कोरोना भाइरसको रोकथाम र उपचार दुवै हुन सक्ने उनले दाबी गरेका छन् ।

राष्ट्रपतिले आफ्ना मन्त्री, कूटनीतिज्ञ र पत्रकारलाई मालागासी इन्स्टिच्युट अफ अपलाइड रिसर्च (आईएमआरए) मा सम्बोधन गर्दै भने– ‘परीक्षण भइसकेको छ । यो विधिबाट दुई जनामा उपचार भइसकेको छ । हर्बल टीले सात दिनभित्र परिणाम देखाउँछ ।’ उनले भने– ‘सबैभन्दा पहिला म नै यसलाई तपाईंहरुको अगाडि पिउँछु, यसले उपचार गर्छ, कसैलाई मार्दैन ।’

मलेरिया उपचारमा प्रयोग हुने बिरुवाको प्रयोग

यो झोललाई कोभिड अर्गानिक्स नाम दिइएको छ । यसलाई आर्टेमिसिया नामको बिरुवाबाट तयार गरिएको हो जसले मलेरियाको उपचारमा आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । हर्बल टी बनाउनका लागि अन्य स्थानीय जडिबुटी पनि प्रयोग गरिएको छ । यसबीच आईएमआरएका महानिर्देक डाक्टर चाल्र्सले भने– ‘कोभिड अर्गानिक्सको प्रयोग प्रोफिलेक्सिसका रुपमा हुनेछ, जुन रोकथामका लागि हो । तर यसको क्लिनिकल टेस्टले सुधारात्मक उपचारका लागि प्रभावित रहेको देखाएको छ ।’

माडागास्करमा अहिलेसम्म कोभिड–१९ संक्रमित १ सय २१ पुगेका छन् र कसैको मृत्यु भएको छैन ।

यद्यपि आईएमआरएको यो कार्यक्रममा डब्ल्यूएचओको तर्फबाट कोही पनि सहभागी छैन । यसबीच अमेरिकी सेन्ट्रल फर डिजिज कन्ट्रोल (सीडीसी) ले हर्बल औषधि वा चियाका सम्बन्धमा कोभिड–१९ को रोकथाम वा बिरामीको उपचार हुने सक्ने विषयमा यसको कुनै पनि वैज्ञानिक प्रमाण नभएको जनाएको छ । यसमा केही कुरा सुरक्षित पनि नदेखिएको उल्लेख गरेको छ ।