यूएनएफपीएद्वारा व्यक्तिगत सुरक्षा कवच हस्तान्तरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धताअनुरूप संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले १ हजार २ सय व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्स नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी पहलअन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरू प्रदान गरिएको थियो । ३ करोड ४ लाख ८० हजार रुपियाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आई गगल्स्, हेड कभर्स, सुकभर्स, लङ स्लिभ इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गमबुट्स रहेका छन् ।

किट्सहरू सही सयममा आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताउनुभयो । उहाँले पीपीई किट्स ग्रहण गर्दै कोरोनाको महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको रक्षा गर्नु महत्वपूर्ण भएकाले यस समयमा उनीहरूको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिकसम्बन्धी आवश्यकतामा ध्यान दिनुपर्दछ ।’ –नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो । नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य संगठन र अन्य राष्ट्रसंघीय निकायसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेको उहाँको भनाइ थियो ।

किट्समा १४ किसिमका फरक–फरक सामान साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीका लागि आवश्यक अन्य सामग्रीहरू समावेश रहेका छन् ।