ढाँट्दै बैठकमा जाँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

मेडिकल सामग्री सप्लाई काण्डमा विवादित हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले आफू हिसानको कार्यवाहक अध्यक्ष भन्दै विभिन्न बैठकमा सहभागी हुने गरेको खुलेको छ ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिमा निजी विद्यालय सञ्चालकको हैसियतले चैत महिनाको शुल्क फिर्ता गर्नेसम्मको प्रस्ताव मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गर्नेसम्मको हर्कत गरेपछि विवादमा तानिएका शर्माले फेरि अर्को झेल गरेको खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको परीक्षासम्बन्धी छलफल कार्यक्रममा शर्मा हिसानको कार्यवाहक अध्यक्षको हैसियतमा उपस्थित भएका थिए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले हिसानको कार्यवाहकको हैसियतमा शर्मालाई आमन्त्रण गरेको जानकारी गराउनुभयो ।
तर, हिसानका अध्यक्ष रमेश सिलवालले हिसानमा आफू अध्यक्ष हुँदाहुँदै बोर्डले वरिष्ठ उपाध्यक्ष शर्मालाई बोलाएकोमा आपत्ति जनाउनुभयो । उहाँले बोर्डले बोलाएको औपचारिक बैठकमा हिसानलाई निम्तो गर्नुपर्ने बताउनुभयो । हिसानले अहिलेसम्म कसैलाई पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएको उहाँकोे भनाइ छ ।

तर, शर्माले शिक्षा मन्त्रालय, बोर्डलगायतका निकायमा हिसानले आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै हिँडेको स्रोतको भनाइ छ । हिसानका महासचिव लोकबहादुर भण्डारीले बोर्डले छलफल गर्न बोलाउँदा हिसानलाई पत्र पठाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘आजको बैठकको विषयमा हामीलाई जानकारी छैन, हामीले कोही प्रतिनिधि नै पठाएका छैनौं ।’

हिसानले कुनै पनि पदाधिकारीलाई कार्यवाहक अध्यक्षको हैसियत प्रदान नगरेको स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले शर्माले आफू कार्यवाहक अध्यक्ष भएको जानकारी गराएपछि बैठकमा बोलाएको बताउनुभयो ।