नेपाल समाचारपत्र, बैतडी।
बाबु बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् ।
भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुबा बितेको ४ दिन भए पनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।
यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भएको जनाएको छ । आइतबार बुबाको मृत्यु भएपछि उनीहरूलाई बुधबार नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । घरमा बुबा बितेपछि उनीहरूलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिसकिएको उहाँले बताउनुभयो ।
नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँचलगायतका सम्पूर्ण प्रक्रिया पु¥याइने जनाइएको छ । उनीहरू तीनैजना पिथौरागढको गभमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए । ५ भाइमध्ये ३ भाइ भारतमा मजदुरी गरी फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए ।
यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्र्याइएको थियो ।











प्रतिक्रिया