कोविड १९ को रोकथाम र उपचारमा हर्बल चिया


अन्तानानारिवो (एजेन्सी)।

विश्वभरीका कयौं वैज्ञानिकहरु कहिले ब्लडप्लाज्मा त कहिले बीसीजी खोपमा कोरोना भाइरस संक्रमणको उपचार खोजिरहेका छन् । तर अहिलेसम्म उनीहरुलाई यसको अचुक उपचारमा सफलता मिलेको छैन । यसबीच माडागास्करका राष्ट्रपति एन्ड्रि रेजोएलिनाले आधिकारीक रुपमा यसको हर्बल उपचार अनुमोदन गरेका छन् । यसबाट नोवेल कोरोना भाइरसको रोकथाम र उपचार दुबै हुन सक्ने उनले दावी गरेका छन् ।

राष्ट्रपतिले आफ्ना मन्त्री, कुटनितिज्ञ र पत्रकारहरुलाई मालागासी इन्स्टिच्युट अफ अपलाइड रिसर्च (आईएमआरए) मा सम्बोधन गर्दै भने, परीक्षण भइसकेको छ । यो विधिबाट दुईजनामा उपचार भइसकेको छ । हर्बल टी सात दिन भित्र परिणाम देखाउँछ ।

उनले भने ( सबैभन्दा पहिला म नै यसलाई तपाईहरुको अगाडी पिउँछु, कि यसले उपचार गर्छ, कसैलाई मार्दैन ।

मलेरिया उपचारमा प्रयोग हुने विरुवाको प्रयोग

यो झोललाई कोविड अर्गानिक्स नाम दिइएको छ । यसलाई आर्टेमिसिया नामको विरुवाबाट तयार गरिएको हो जसले मलेरियाको उपचारमा आफनो क्षमता प्रमाणि गरिसकेको छ । हर्बल टी बनाउनका लागि अन्य स्थानि जडिबुटी पनि प्रयोग गरिएको छ ।

यसबीच आईएमआरएका महानिर्देक डाक्टर चाल्र्सले भने- ‘कोविड अर्गानिक्सको प्रयोग प्रोफिलेक्सिसका रुपमा हुनेछ , जुन रोकथामका लागि हो । तर यसको क्लिनिकल टेस्टले सुधारात्मक उपचारका लागि प्रभावि रहेको देखाएको छ ।’

माडागास्करमा अहिलेसम्म कोविड १९ संक्रमित १ सय २१ पुगेको छ र कसैको मृत्यु भएको छैन । यद्यपी आईएमआरएको यो कार्यक्रममा डब्ल्युएचओको तर्फबाट कोही पनि सहभागी छैन ।

यसबीच अमेरिकी सेन्ट्रल फर डिजिज कन्ट्रोल (सीडीसी)ले हर्बल औषधी वा चियाका सम्बन्धमा कोविड १९ को रोकथाम वा विरामीको उपचार हुने सक्ने विषयमा यसको कुनै पनि वैज्ञानिक प्रमाण नभएको जनाएको छ । यसमा केही कुरा सुरक्षित पनि नदेखिएको उल्लेख गरेको छ ।