युवालाई स्वदेशमै काम देऊ



राज्यलाई युवाशक्ति विदेश पलायन रोक्न चुनौती बढ्दै गएको छ । हरेक दिन नेपाली युवा कामदारका रूपमा विदेशिने क्रम तीव्ररूपमा वृद्धि भएसँगै रोजगार गन्तव्य मानिएका मुलुकहरूमा विभिन्न कारणले मृत्यु हुने क्रम पनि अस्वाभाविकरूपमा बढिरहेको छ । कैयौँ अंगभंग हुने गर्छन् भने कतिपयले आत्महत्याको बाटोसमेत रोजेको पाइएको छ । आत्महत्या गर्नेमा पनि अधिकांश मलेसिया गएका कामदार बढी रहनुले यो अनुसन्धान गर्नुपर्ने विषय बन्न पुगेको छ ।

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मानिएको मुलुक मलेसिया असुरक्षित बन्दै गएको दृष्टान्त पनि हो यो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कुल संख्याको एकतिहाइ मलेसिया नै जाने गरेको देखिएको छ । पछिल्लोे समय मलेसिया र खाडी मुलुकहरूमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गएको छ । असुरक्षित गन्तव्य मानिएका मुलुकमा ठूलो संख्यामा युवाले ज्यान गुमाउनुपरे पनि नेपाली समाजमा विदेश मोह घट्न सकेको छैन भने राज्यले विदेश पलायन रोक्न दीर्घकालीन योजना पनि बनाउन सकेको छैन ।
प्राकृतिक तथा दैवी प्रकोपका कारणले हुने मृत्युलाई कसैले रोक्न सक्दैन । तर, असामयिक ढंगले हुने मृत्यु बढ्दै जानु चिन्ताको कुरा हो । बेरोजगारीको तनाव हटाउन भनेर विदेश गएकाले झनै तनाव लिएर आत्महत्या गर्नु विडम्बनाको कुरा हो ।

गाउँमा मान्छे मर्दा मलामीसमेत नरहने स्थिति आइसक्दा पनि सरकारले युवाको विदेश पलायन न्यूनीकरणसम्म गर्न नसक्नु दुर्भाग्य हो । जबसम्म युवालाई स्वदेशमै रोजगारको अवसर र विकास निर्माणमा समाहित गर्न सकिँदैन, तबसम्म नेपाली कामदारहरू जोखिमपूर्ण कामका लागि असुरक्षित गन्तव्यमा जान बाध्य भइरहनेछन् । स्वदेशमै रोजगार सृजना गरी नेपाली जनशक्तिलाई राष्ट्रिय समृद्धिमा लगाउन सरकारले विदेशमा अकालमा ज्यान गुमाउनेहरूको संख्यालाई मध्यनजर गरी जनशक्ति विदेश पलायन हुनबाट रोक्नुु जरुरी देखिएको छ ।
– झंकर साउद, अछाम ।

किन पर्छ जनगणनाको आवश्यकता?
अहिले राष्ट्रिय जनगणनाको तयारी शुरू गरिएको छ ।२०६८ सालपछि १० वर्षको अन्तरालमा हुन लागेको जनगणना स्वाभाविक हिसाबले महत्वपूर्ण छ नै । अहिले संकलन गरिने तथ्यांकले भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि भूमिका खेल्नेछ । यसकारण पनि जनगणनामा सरोकारवालाकाबीच पर्याप्त तयारी, छलफल, चिन्तन मनन आवश्यक छ । विगतको जनगणनाका सन्दर्भमा केही गुनासो, आलोचना र विरोधाभाषहरू छन् । जसका बारेमा अहिलेको जनगणना गर्नुपूर्व गम्भीर छलफल, प्रश्नावली, तयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

जनगणना अर्थात् यसरी संकलन गरिने तथ्यांकले हिजो के थियो, आज के भइरहेको छ र भोलि हाम्रो समाज र मुलुक कता जाँदै छ भन्ने प्रक्षेपण गर्नमा अभूतपूर्व भूमिका खेल्नेछ ।तर विगतमा त्यस्तो तुलना गर्न सकिने गरी तथ्यांक नआएको विज्ञहरूको गुनासो छ । अहिले जनगणना गर्दा हरविषय र क्षेत्रको तुलना गर्न सकिने गरी तथ्यांक संकलन र उत्पादनमा ध्यान दिनुपर्नेमा जोड छ । तथ्यांकलाई विरोधाभाषबाट मुक्त गराउने गरी काम गर्नुपर्ने चुनौती पनि तथ्यांक विभाग र कार्यालयहरूलाई छ ।
जनगणना संकलन र सार्वजनिकपछि विषयगत प्रतिवेदन तयार गर्ने र त्यसले तथ्यमा आधारित नीति, निर्माण तथा विषयगतरुपमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेरि अहिले हामी नयाँ संघीय संरचनाको अभ्यासमा छौं ।२०६८ ताकाका व्यवस्था, संरचनाहरूमा धेरै बदलाव आएको छ । अहिले तथ्यांक संकलनमा पहिले प्रयोग गरिएका स्थानीय शिक्षकहरूलाई प्रयोग नगरिने तथ्यांक विभागले प्रस्ट पारिसकेको छ ।यसका दुई उद्देश्य देखिन्छन् । एउटा शिक्षक जागिरे भएकाले नयाँ व्यक्तिहरूलाई केही समय भए पनि रोजगार सिर्जना होस् भन्ने अन्तर्य देखिन्छ भने अर्को २०७८ वैशाखदेखि जनगणना शुरू गर्ने तयारी छ । वैशाखमै नयाँ शैक्षिक सत्र शुरू हुने र शिक्षकहरू भर्ना अभियानमा केन्द्रित हुने भएकाले अरू नै व्यक्तिको विकल्प खोजिएको छ । यो राम्रो कुरा हो ।

मुख्य सवाल के हो भने, जनगणना समाजको सही तस्वीर देखाउने गरी ल्याउनुपर्छ । वर्तमान समाजमा जे संख्या र अवस्था छ, त्यो जस्ताको तस्तै देखिने गरी आउनुपर्छ । नकि विभिन्न स्वार्थ समूहका कारण तथ्यांक मिथ्यांकको रूपमा कदापि आउनुहुँदैन । त्यसका लागि अहिलेदेखि नै के–कस्ता तयारी, सोच विचार, छलफल, परामर्श समन्वय हुनुपर्छ । सम्बन्धित निकायले त्यसको कुनै कसर बाँकी राख्नुहुँदैन । १० वर्षपछि हुन लागेको जनगणनाले अबको १० वर्षपछिसम्मको योजना, अरू नीति निर्माणका कार्यको खाका बनाउनुपर्ने भएकाले त्यो समयसम्मको सोच, चिन्तन राखेर हरसरोकारवालाले काम गर्नुपर्छ ।
यो काम खाली तथ्यांक विभाग या कार्यालयले मात्र गरेर सफल हुँदैन । जिल्लास्तरका सबै सरोकारवाला निकाय र स्वयम् नागरिक प्रत्यक्ष जोडिने भएकाले हरव्यक्तिले सही सूचना, जानकारी र तथ्यांक दिनु आवश्यक छ । समाज र देशको भविष्य निर्देश गर्ने विषयमा सरोकारवाला निकायले पनि सही समन्वय र नेतृत्व गरोस् । हामी सबै जिम्मेवार बनौं ।यथेष्ट तयारी र समन्वय गरौं ।
– समीर रिजाल,हेटौडा ।

समयको महत्व
समय बलवान् छ । समयअनुसार हामी सबै चल्न सक्नुपर्छ । समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरू छुट्ने तथा बिग्रने हुन सक्छन् । विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको छैन । समयले मानिसलाई चलाउने काम गर्छ । अझ भनौँ, घडीको सुईको गतिमा हामी चल्नुपर्ने हुन्छ । घडीको सुईको निर्देशनमा चलिएन भने ठूलै नोक्सानसमेत चुकाउनुपर्ने अवस्था आउन सक्छ । हामीले थोरै समयलाई ख्याल गरेका हुदैनौँ ।जानाजान हामीले लापरबाही गर्दा समयले नेटो काटिसकेको हुन्छ ।

पछिल्लो समय आयोजना गरिने विभिन्न कार्यक्रमहरू निर्धारित समयभन्दा निकै अबेर गरी सञ्चालन गरिएका छन् ।एउटा सामान्य कार्यक्रम एक–दुई घन्टा ढिला गरिदिँदा त्यसले दिनभरिको काममा प्रभाव पारिरहेको हुन्छ । हामीले भोलिपल्टको दैनिकी अघिल्लो दिनमा नै तयार पारेका हुन्छौँ ।कतै कुनै काममा जान वा कुनै महत्वपूर्ण भेटघाटका लागि तयार पारिएको कार्यक्रममा एकठाउँमा ढिला हुनेबित्तिकै यसले दिनभरिकै काममा असर परेको हुन्छ । पछिल्लो समय आयोजना गरिने औपचारिक कार्यक्रमहरूमा समयलाई ख्याल गरेको पाइँदैन ।निर्धारित समयमा कार्यक्रम शुरू हुन नसक्दा कतिपय मानिस कार्यक्रम छोडेर जानुपर्ने हुन्छ । त्यस्तै, कति मानिसले आफ्नो अरू कामबाट हात झिक्नुपर्ने अवस्था आउँछ । त्यसैले समयको ख्याल गर्नै पर्छ ।
– रोशन सिलाल,कैलाली ।

प्रतिक्रिया दिनुहोस्