अध्यादेशमा संवैधानिक कानून व्यवसायी मञ्चको घोर आपत्ति, खारेजीको माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संवैधानिक कानून व्यवसायी मञ्चले राष्ट्रपतिद्धारा हाल जारी गरिएका दुई वटा अध्यादेश तुरुन्त खारेज गर्न माग गरेको छ । मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गरी ती अध्यादेशको कुनै औचित्य नभएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष राजु प्रसाद चापागाईं, महासचिव अनन्तराज लुइटेललगायत १८ कानून व्यवसायीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ती अध्यादेशहरु खारेज गर्नको लागि मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गर्न माग गरिएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) मा जारी भएका अध्यादेश राष्ट्रपतिबाट जुनसुकै बखत पनि खारेज हुन सक्ने उल्लेख गरिएको छ ।

मञ्चद्धारा जारी गरिएको विज्ञप्तिमा जनताको बृहत हितलाई संरक्षण गर्ने तर्फ केन्द्रीत हुनुपर्ने संवैधानिक दायित्वबाट सरकार विचलित भई देशलाई राजनीतिक अस्थिरताको दुस्चर्कमा पुन धकेल्ने तर्फ अभिप्रेरित हुनु खेदजनक भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ–‘निहित राजनीतिक स्वार्थबाट अभिप्रेरित असंवैधानिक कदमका कारण मुलुकले गम्भीर क्षति ब्यहोर्नु पर्ने हो कि भन्ने सन्देह उत्पन्न भएको छ ।’

विज्ञप्तिमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल, डा. चन्द्रकान्त ज्ञवाली र दीनेश तथा अधिवक्ताहरु डा. भीमार्जुन आचार्य, टीकाराम भट्टराई, माधवकुमार बस्नेत, ओमप्रकाश अर्याल, डा. रुद्र शर्मा, हर्क रावल, सरोजकृष्ण घिमिरे, लीलाधर उपाध्यायलगायतको हस्ताक्षर रहेको छ ।