कोरोनाको जोखिमबाट बच्न लुम्बिनी प्रादेशिक अस्पतालमा सेनेटाईजिङ्ग टनेल निर्माण

0
Shares

यमलाल भुसाल, बुटवल ।

कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलको प्रबेशद्वारमा अटोमेटिक सेनेटाईजिङ्ग टनेल जडान गरिएको छ । अस्पतलामा आउने विमारी, उनका आफन्त तथा सर्वसाधारणलाई सेनेटाइज गर्न लुम्विनी प्रादेशिक अस्पताल सेनेटाईजिङ्ग टनेल जडान गरिएको हो ।

स्वचालित सेनेटाईजिङ्ग टनेल जडानसंगै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल आउने जानेहरुलाई उक्त टनेलमा सेनेटाइज भएर मात्र अस्पताल भित्र प्रबेश गर्ने र बाहिर निस्कने ब्यवस्था गरिएको छ ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित विमारीहरु नेपालमा पनि देखा परेपछि यसको जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) प्रदेश नं. ५ ले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरेर लुम्विनी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।

अस्पताल धेरै सम्वेदनशिल ठाउँ भएको र अस्पतालमा विमारी र विमारीका आफन्त बाहेक जो कोही पनि आउजाउ गर्ने भएकाले यसरी अस्पताल आउनेहरुलाई सुरक्षित राख्न पिनले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरेर अस्पताललाई हस्तान्तरण गरेको हो ।

यस क्षेत्रका युवा इन्जिनियरहरुले खाली समयको सदुपयोग गरेर निर्माण गरेको उक्त टनेल बैशाख ७ गते आइतबार पिन प्रदेश नं. ५ का ईन्चार्ज इन्जिनीयर दुजेन्द्र बस्नेत र अध्यक्ष इन्जिनीयर जीवन अर्यालले अस्पताल विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

टनेलका बारेमा जानकारी गराउदै टनेल निर्माण समितिका संयोजक तथा पिन प्रदेश ५ का सचिवालय सदस्य ईन्जिनीयर दिपक पाण्डेले करिव ८० हजारको लागतमा निर्माण गरिएको टनेलले मानिस टनेलमा प्रवेश गरेपछि प्रत्येक मानिसलाई ५ सेकेण्डसम्म पुरा शरिरमा सेनेटाईजर (स्प्रे) गर्ने बताउनु भयो । टनेल ईन्जिनीयरहरु दिपक पाण्डे, आशिष पराजुली, करुण खनाल लगायतको टोलीले निर्माण गरेको हो ।

उक्त टनेलमा प्रयोग गरिएको सेनेटाईजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्पताल आफैले बनाउने गरेको छ ।
अस्पतालमा जडान गरिएको अटोमेटिक सेनेटाईजिङ्ग टनेलमा सेनेटाईज भएर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले टनेलको शुभारम्भ गर्नुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अटोमेटिक सेनेटाइजिङ टनेल धेरै प्रभावकारी रहेको, यो जडानले यसमा प्रयोग हुने जनशक्तिलाई अन्य काममा लगाउन सकिएको र अस्पताल आउने जानेहरुले पनि आफुलाई धेरै सुरक्षित महशुस गरेको वताउनु भयो । अस्पतालमा जडान गरिएको टनेलको प्रभावकारितालाई हेरेर सिद्धार्थ राजमार्गमा संचालन हुने सवारीसाधनलाई समेत सेनेटाईज गर्ने गरी उच्चस्तरको सेनेटाईजिङ्ग टनेल निर्माण गर्ने सोचमा आफुहरु रहेको इन्जिनीयर दिपक पाण्डेले जानकारी गराउनु भयो ।