बिचल्लीमा परेका २५ मजदुरको उद्दार

0
Shares

मिला दरै, तनहुँ ।

ईटा भट्टामा काम गर्न आएका मजदुरलाई उद्दार गरी घर घरमा पुराइएको छ । पर्साको ठोरीका पच्चिस मजदुरको उद्दार गरी बन्दिपुर गाउँपालिकाले घरसम्म जाने व्यवस्था गरेको हो । ईट्टाभट्टाको स्याउली स्थित इट्टा निर्माण गरेर बस्दै आएका मजदुरहरुको तीन दिन देखि लगातार असिना पानी र हावाहुरीले स्याउली भत्काइदिदाँ विचल्ली अवस्थामा रहेकोले उनीहरुलाई घरसम्म पुर्‍याउनका लागि गाडीको व्यवस्था गरिएको हो ।

वडा कार्यालयमा आएर उनीहरुले घरसम्म पुराई दिन पटक–पटक अनुरोध गरेपछि गाउँपालिकाले बजेट व्यवस्थापन गरी उनीहरुको उद्दार गरिएको बन्दिपुर–१ वडाका वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । बस पाउन नसकिएपछि उनीहरुलाई दुई चरणमा कारमा रिर्जभ गरी पठाइएको उहाँले बताउनुभयो ।

इट्टाभट्टामा निर्माण गरेको स्याउली हावाहुरीले भत्काई दिएपछि छिमेकीको घरमा शरण लिदै आएको मजदुर माया तामाङ बताउनुहुन्छ ।

हावाहुरी आउँदा छिमेकी कहाँ गएर बस्ने र हावाहुरी असिना पानी रोकिएपछि पुनः आफ्नै स्थानमा आएर बस्ने गरेको उहाँले दुखेसो पोख्नुभयो । आकाशमा गड्याङ गुडुङ गरेपछि दायाँ बायाँ छिमेकी कहाँ गएर ओत लाग्नुपर्ने अवस्था रहेको पर्सा ठोरीका अर्का मजदुर प्रताप मुक्तान बताउनुहुन्छ । ‘ज्यान जोगाउँ नै गाह्रो भएपछि घर फर्कने निर्णय गरेका हौं,’ उहाँ भन्नुहुन्छ ‘गाउँपालिकाले हामीहरुको उद्दार गरेर ठुलो गुन लगाएको छ ।’

छ महिना देखि उहाँहरु यहाँ आएर यामलाल शाहीको ईट्टा भट्टामा काम गर्दै आउनुभएको बन्दिपुर १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । ‘उहाँहरुलाई यही राख्न खोजेका थियौ तर हाम्रो स्रोत साधनले सबैलाई व्यवस्थित गर्न सकेनौं,’ पोख्रेलले भन्नुहुन्छ, ‘हामीले पहिलो चरणको राहत वितरणमा उनीहरुलाई एक बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेका थियांै, त्यसले मात्रै उहाँहरुको आवश्यकता पूर्ति गर्न नसक्ने अवस्था देखेपछि घर पठाउन लागिएको हौं ।’

लगातार हावाहुरी आएपछि बस्ने स्थान समेत भत्काई दिदाँ बालबालिकाहरुको समेत दयानीय अवस्था देखिएपछि गाउँपालिका कार्यालयसंग समन्वय गरी यहाँ रहेका मजदुरहरुलाई घरसम्म पठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वास्थ्यमा कुनै लक्षण नदेखिएका र अलपत्र परेका मजदुरहरुलाई सुरक्षित तवरबाट घर पठाउने नीति बन्दीपुर गाउँपालिकाको रहेकोले उनीहरुलाई घर घरमा पठाइएको हो । अलपत्र परेका मजदुरहरुलाई उद्दार गरी गाडी चढाएर सम्बन्धित स्थानसम्म पुराइएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो ।

लक डाउनका कारण अलपत्र परेका करिब ७०/८० जना मजदुरहरुलाई बन्दीपुर–१ स्थित डुम्रे बजारबाट गाडीको व्यवस्था गरी घर पठाइएको भानु मुकाम डुम्रे प्रहरी चौकीका सई बिरेन्द्र प्रसाद खड्काले जानकरी दिनुभयो । खड्काका अनुसार सोमबार मात्रै करिब ४०/४५ जना घर जाने प्रतिक्षामा डुम्रे बजार क्षेत्रमा बसिरहेका थिए ।

छिमेकी जिल्ला गोरखा र लमजुङमा भुकम्पबाट क्षति पुगेका भवन र जलविद्युत परियोजनामा काम गर्न आएका उनीहरुलाई सोमबार साँझसम्म गाडीको व्यवस्था गरी घर पठाइएको उहाँले बताउनुभयो । ‘जिल्ला प्रशासन कार्यालयबाट गाडीको पासको व्यवस्था गरेपछि उनीहरुलाई घर पठाउँछौ,’ उहाँले भन्नुभयो ।