पर्वत- बाग्लुङ जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न

0
Shares

न्युज अफ नेपाल, पर्वत  ।

छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एसियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघि निर्माण सुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएको निर्माण कम्पनी थानी, बीएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।

पुलको मंगलबार उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनका कारण प्रभावित भएको खड्काले बताउनुभयो ।

कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाइ छ । लकडाउन अवधिमा पनि १६ कामदारले नियमित काम गरेका थिए ।

निर्माणको काम सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कुल ९४५ स्टिलडेक ९फ्ल्याक० बिछ्याइएको छ । पुलको प्रति वर्गफिटमा चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म रहेको छ ।

पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासीलगायतका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका–१ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताउनुभयो ।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी९बीएलटी९हिमशिखर जेभी निर्माण कम्पनीले छ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको थियो । पुल नेपाली इञ्जिनीयरले नै डिजाइन गरेका थिए ।

यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दावी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि यहाँ बन्न लागेको पुल खुला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ छ ।