जान्ने र सिक्ने उत्सुकता



साँच्चै मानव जाति भएपछि जिज्ञासु हुनु त स्वाभाविक हो तर किन मानिस जिज्ञासु हुन्छन् त भन्ने एक प्रकारको मनमा कौतुहलता जाग्यो । यसको बारेमा मनमा उठेका आफ्ना विचार पोख्न मन लाग्यो । मान्छेको मनमा हरेक भावनाहरू खेलिरहेका हुन्छन् । कहिलेकाहीँ नकारात्मक भावनाहरू पनि उठिरहेका हुन्छन् । मानिस कतिखेर पनि एक्लो हुँदैन, चाहे बाटोमा हिँड्दा होस्, चाहे कसैसँगको वार्तालाप, मानिसको मनमा भावनाहरू उत्पन्न भइरहन्छन् ।
जब दुधेबालक पनि तोते स्वरमा आमा–बाबा भन्छ तबबाटै ऊ आफ्नो बाबा, आमा, दाइ, दिदीसँग केही न केही सिकिरहेको हुन्छ । हरेक वस्तु देखेर त्यो के होला, कस्तो होला भनी अनेक प्रश्नहरू गर्दछ । हामी कहिलेकाहीँ तिनै प्रश्नको उत्तर दिँदा–दिँदा हैरान हुन्छौं । भनिन्छ नि जिज्ञासु भावनाले नै भोलिको भविष्य निर्माण गर्दछ रे ! हाम्रो गाउँघरमा भन्ने गरिन्छ कि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात । तिनै राम्रा अनि नराम्रा कुराहरूले नै कोही मानिस महान् बन्छ त कोही खराब, साँच्चै हरेक मनमा केही न केही भावनाहरू उत्पन्न हुने गर्छन् तर वैज्ञानिक तथा सामाजिक हिसाबले किशोरावस्थालाई जिज्ञासु उमेर पनि भन्ने गरिन्छ ।
वास्तवमा किन किशोर अवस्थालाई जिज्ञासु उमेर भनिएको होला त ? यो अवस्थामा के–कस्ता परिवर्तन र जिज्ञासाका भावना उत्पन्न हुन्छन् । यहाँनेर थोरै विश्लेषण गर्न मन लाग्यो । किनकि हाम्रो गाउँघरमा प्रायजसो किशोर अवस्थामा धेरै परिवर्तन देखिन्छन् । अन्य उमेरभन्दा यो उमेरमा केटाकेटीहरू बढी जिज्ञासु हुने शारीरिक विकास क्रमसँगै विभिन्न क्रियाकलापहरूमा परिवर्तन आउने गर्दछ । हुन त जिज्ञासा जुनसुकै उमेर, व्यक्ति सबैको मनमा उत्पन्न भइरहन्छ । उमेरअनुसार फरक–फरक विचार भावना जागृत हुन्छ ।
फरक स्वभाव, फरक रुचि, गीत–संगीतकै कुरा गर्दा पनि केटाकेटीदेखि लिएर वृद्धावस्थाको उमेरमा फरक–फरक हुन्छ । तर पनि विशेष गरी जिज्ञासु उमेरकै कुरा गर्दा बालबालिकाको उमेर परिवर्तनसँगै शरीरमा तीव्ररूपमा परिवर्तनहरू देखिन थाल्छन् । बालक र बालिकाहरूबीच उमेर वृद्धिसँगै शारीरिक परिवर्तनमा पनि फरकपन आउँछ ।
शारीरिक स्वरूपमा नै परिवर्तन आउने उमेरलाई जिज्ञासु उमेर भनिन्छ । किनकि बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो । यो अवस्थामा किशोर तथा किशोरीको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास भई उनीहरू परिपक्व हुने गर्दछन् । शारीरिक परिवर्तनहरू पनि आउने गर्दछ । हलक्क बढ्नु, काँध चौडा हुनु, दाह्री–जुँगा आउनु, स्वर धोद्रो हुनु, काखीमुनि रौं आउनु, डण्डिफोर आउनु तथा केटीहरूमा आउने परिवर्तनमा तिघ्रा सोली आकारको हुनु, स्वर अझै सुरिलो हुनु, काखीमुनि रौं आउनु, डण्डिफोर आउनु, महिनावारी हुनु, स्तन बढ्नु आदि शारीरिक परिवर्तन किशोरावस्थामा आउँछन् ।
यी अवस्था त स्वाभाविक भए तर यो उमेरमा किन बढी जिज्ञासु हुन्छन् त भन्ने कुरा अलि गम्भीररूपमा लिने गरिन्छ । सही, गलत निर्णय लिने यही अवस्था हो । ज्ञानले भरिपूर्ण हुने, आफु कस्तो बन्ने असल या खराब, राम्रा र नराम्रा विचार उत्पन्न हुन्छन् । के जिज्ञासा उमेरअनुसार परिवर्तन हुन्छन् त ?यदि त्यसो हो भने किन बालबालिका बढी जिज्ञासु हुन्छन् ? कुनै विचारले यो उमेर, त्यो उमेर भन्दैन । हुन सक्छ उमेरअनुसार नयाँ–नयाँ विचार वा जिज्ञासा आउँछ । कहिले ती जिज्ञासाहरू सकारात्मक भइदिन्छन् र मानिस विचारले महान् भइदिन्छ । तर कहिलेकाहीँ तिनै विचार, जिज्ञासा नकारात्मक हुन्छ अनि हाम्रो मन मस्तिष्कमा गलत धारणा पैदा गर्छ । हो, मानिस जन्मसँगै विचार विमर्श गर्दछ अनि कोही जीवनमा महान् बन्छ त कोही खराब । तर पनि विचारले मानव भरिपूर्ण छ ।
साँच्चै जीवन अमूल्य छ । जीवनमा केही गर्नु र भोलिका पुस्ताको लागि महान् प्रेरक बन्नु छ । जिज्ञासा जीवनको सत्मार्ग हो । किनकि महान् विचारक आज वैज्ञानिक, दार्शनिक, आध्यात्मिक बनेका छन् । हो, यो सब जिज्ञासाको कारण नै त म कस्तो बन्छु, कुन मार्गमा हिँड्छु, त्यो आफैं अन्तरमनमा उत्पन्न भइरहने जिज्ञासु भावनाले नै हो । तसर्थ जिज्ञासा र जिज्ञासु भावना हरेक मनमस्तिष्कमा उत्पन्न भइरहन्छ । तिनै जिज्ञासाले मानिसको भविष्य निर्माण हुन्छ । यदि मानिसले सदा राम्रा अनि सकारात्मक विचार विमर्श ग¥यो भने जीवन सरल र आनन्ददायक हुन्छ । जिज्ञासा सबैमा हुन्छ, चाहे धनी होस्, चाहे गरिब, चाहे प्रतिष्ठित, आममानिसमा जिज्ञासा र जिज्ञासु भाव उत्पन्न हुन्छ । त्यसैले त मानव प्राणीमध्ये सर्वश्रेष्ठ छ ।
– पूर्णिमा कुँवर,कालीमाटी,सल्यान ।

मन नै लोभ्याउने गण्डकी प्रदेश
प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथादेखि मनमोहक लाग्ने दृश्य र छटाहरूले भरिपूर्ण नेपाल राम्रो गन्तव्य हो भन्नुमा कुनै दुईमत रहँदैन । अझ नेपालभित्रको प्रादेशिकरूपमागण्डकी प्रदेशभित्र अझ बढी पर्यटकीय सम्भावना देखिन्छ । प्रदेशले पर्यटन पवद्र्धनको लागि अझ, प्रचारप्रसार गर्दै थप ठोस योजनाको बनाउनुपर्नेआवश्यकता छ । जसले नेपालमै सबैभन्दा बढी पर्यटकीय सम्भावना बोक्ने गण्डकी प्रदेशले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा सुखद सन्देश दिन सकोस् ।
त्यसभित्रको बागलुङको कालिका मन्दिर, नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन मात्र होइन अब दुर्लभ शालिग्राम संग्रहालय, सर्वसिद्धिधाम पञ्चकोटलगायतका पर्यटक आकर्षित गर्न सक्ने दर्जनौं पर्यटकीय क्षेत्र पनि छन् । अब यसबीचमा आन्तरिक र बाह्य पर्यटक आगमन गराउने थप पर्यटक मैत्री पूर्वाधार, प्रचारप्रसार र हाम्रा मौलिक संस्कार–संस्कृतिहरूको पुनर्जागरण पनि जरुरी छ ।
नेपालभित्रका प्रदेश, जिल्ला र गाउँ, नगरहरूमा पनि यसले उत्साहको सञ्चार गरेको छ । पर्यटकको स्वागतको मात्रै होइन, पर्यटन पूर्वाधार र पर्यटन मैत्री वातावरण निर्माणका लागि अभूतपूर्व भूमिका पनि अब हामीले निभाउनुपर्छ । किनकि, अब कृषिसँगै मुलुकको समृद्धिको महत्वपूर्ण आधारको रूपमा पर्यटनमा सर्वत्र सम्भावना खोज्न थालिएको छ । यसले सुखद परिणाम नै निकाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यसका लागि सरकार, ठूला निकाय र ठूला पदमा पुगेकाहरूको भूमिका त बढी हुन्छ नै । हामी हरनागरिकले पनि आफ्नो ठाउँ र सिंगो नेपालको राम्रो सन्देश फैलाऔं ।
– सीमा पराजुली, पोखरा ।

 

प्रतिक्रिया दिनुहोस्