उर्जा मन्त्री पुनको अगुवाईमा सडकमा अलपत्र परेका मजदुरलाई गन्तब्यतर्फ पठाईयो

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

सडकमा अलपत्र परेका मजदुरहरुलाई उर्जा मन्त्री वर्षमान पुनको अगुवाईमा गन्तब्यतर्फ पठाईएको छ ।मन्त्री पुनले भक्तपुरको जगाती पुगेर यहाँ अलपत्र परेका उनीहरुलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई सहितको समन्वयमा गन्तब्यतर्फ पठाईएको हो ।

८ वटा बसको व्यवस्थापन गरी गन्तब्यतर्फ पठाईएको एसपी प्रधानले जानकारी दिनुभयो ।उनीहरु सडकमै अलपत्र परेको खबर सुनेपछि आइतबार साँझ उर्जा मन्त्री पुन भक्तपुरको जगाती पुगेर उद्दारको अगुवाई गर्नुभएको हो ।यस अघि हिँडेरै घर जान लागेका मजदुरहरुलाई भक्तपुरको जगातीमा प्रहरीको समन्वयमा स्थानीयहरुले खानाको ब्यवस्था गरेका थिए ।

उपत्यका तथा विभिन्न जिल्लाहरुवाट पैदल हिडेरै भक्तपुरको जगाती नाका पुगेका उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा स्थानीय युवाहरु सहितले खाद्यान्न तथा तरकारी बोक्ने गाडी तथा ट्रकमा राखेर घर पठाउने ब्यबस्था गरिएको हो । हिडेरै आफनो गन्तव्य पुग्न लागेका र अलपत्र परेका मजदुरहरुको उद्धार गरी सयौं मजदुरहरुलाई घर पठाएकोछ ।

उनीहरु लकडाउनको समयावधि बढेसँगै पैसाको अभावले खाने समस्या भएपछि हिडेरै आफनो गाँउघर फर्किन लागेका थिए ।शुक्रबार रातिदेखि अहिलेसम्म करिव एक हजारभन्दा बढीलाई अफ्नो गन्तव्यतर्फ पठाइसकेको प्रहरीले जनाएको छ । उनीहरुलाई हुम्ला, जुम्ला, रोल्पा, दाङ, ओखलढुंगा, सर्लाही, महोत्तरी,बारा पार्सा लगायतका जिल्लामा पठाएको छ ।

भक्तपुरको जगाती चोकमा केही दिन यता पूर्वदेखि पश्चिमसम्म जाने मानिसको घुँइचा लागेको थियो । सोेमबार बिहानै पनि केहीलाई विभिन्न सवारी साधनहरुमा पठाइ सकिएको छ भने अझैँ केही संख्यामा मानिसहरु बाँकी नै छन् ।अझै करीब दुई सयको संख्यामा बाँकी रहेका मानिसहरुलाई समेत पठाउने व्यवस्था गरिरहेको प्रहरीले जनाएको छ ।