सडक आश्रित बालबालिकाको उद्दार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनका समय सडकमा आश्रित बालबालिकाहरुको उद्दार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले सडकमा रहेको बालबालिका उद्दार गरेको हो ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले काठमाडौंको बौद्ध इलाकाबाट ११ बालबालिकालाई उद्धार गरिएको जानकारी दिनुभयो । जसमा सडकमा आश्रित बालबालिका मात्रै ७ जना रहेको उहाँले बताउनुभयो । जसमध्ये ६ जना बालिका थिए ।

‘लकडाउनको समय सडकमा देखिएको बालबालिकालाई थप जोखिम नहोस भन्ने उद्देश्यले हामीले उद्दार गरिएका हौँ ।’, उहाँले भन्नुभयो ।
सडकमा भएका बालबालिका जोखिममै रहने र कोरोना भाइरसको संक्रमण फैलिने समय भएकोले थप जोखिम नहोस भनेर परिषद्ले उद्दार गरिएको उहाँले बताउनुभयो ।

‘अहिले खासै सडकमा बालबालिका छैनन् । हामीले लडकडाउनको समयमा पनि सडकमा बालबालिकाको खोजि गरी उद्दार कार्य गर्न हिँडिरहेका छौँ ।’, बालबालिका खोजतलास केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।

सडकमा भेट्टिएका बालबालिकालाई उद्दार गरी बालगृहमा राख्ने गरेको उहाँले बताउनुभयो। सडकमा देखिएका विशेषगरी सडकमा आश्रित बालबालिकालाई सडकबाट उद्दार गरी परिषद्ले खोजतलास केन्द्रको समन्वयमा गर्दछ ।

खोजतलास केन्द्रले उद्दार गरीएका बालबालिकालाई सकेसम्म परिवारसँग मिलान गराउने, सीपमुलुक तालिम सिकाउँदै आत्मनिर्भर बनाउने, पठनपाठनका लागि सहजिकरण गर्दै आएको केन्द्रका अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

सडकमा खासै बालबालिका नभेट्टिएपछि परिषद् र केन्द्रले उपत्यकाका बालगृहरुमा अनुगमन गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न र बचाउन अपनाउनु पर्ने विधिहरु अपनाउन निर्देशन समेत दिईएको छ ।

बालगृहलाई तीन महिना भन्दा बढी अवधिसम्म पुग्ने गरी खाद्यन्न भण्डारण गर्न समेत भनिएको केन्द्रले जनाएको छ।