प्रदेश सांसद थापाद्वारा ११३ विपन्न परिवारलाई राहत वितरण

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश ‘ख’ का निर्वाचित सांसद बिन्दुकुमार थापाद्वारा पोखरा महानगरपालिकाका विभिन्न टोलमा रहेका दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय परिवारलाई राहत वितरण गरिएको छ ।

सोमवार पोखरा महानगरपालिका अन्तर्गतका वडा नं ९ बसपार्क स्थित कृष्ण टोल र गणतान्त्रिक टोलका साथै वडा नं २१ को निर्मलपोखरी स्थित मनकामना टोलमा स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण गरिएको हो। राहत सामग्रीमा आधा बोरा चामल, दाल, तेल, चिनी, चियापत्ती, चिउरा, नुन लगाएत रहेका छन ।

स्थानीय सरकारबाट राहत नपाएकाहरूलाई गण्डकी प्रदेश सांसद थापाले व्यक्तिगत तर्फबाट ११३ घरपरिवारलाई राहत बितरण गर्नु भएको हो ।

वडाको लगतमा नपरेका तथा आवश्यकता भएका दैनिक ज्यालादारी गरि खाने, विपन्नका साथै असक्त र असाहयहरूलाई लक्षित गरि राहत बितरण गरिएको थापाले बताउनुभयो । “जनताको हरेक सुख दुःखमा सधैं सँगै रहनेछु, यसैलाई नै म आफ्नो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु” उहाँले भन्नुभयो।

यसअघि पनि उहाँले महानगरका विभिन्न वडाका करिब २०० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण गर्नुभएको थियो ।

थापाले प्रदेशसभा सदस्य निर्वाचित भए पछि हालसम्म प्राप्त गरेका सम्पूर्ण सेवा सुविधामा अरु रक़म थप गरी सामाजिक काममा ख़र्च गर्दै आउनुभएको छ ।थापा नेपाली काँग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद हुनुहुंछ ।