लकडाउन भित्रै यसरी भयो ‘न्याय’

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

लकडाउन लम्बिदै जाँदा हिरासतमा रहेका ब्यक्तिहरुले पाउने न्याय अन्यायमा परिणत हुने भन्दै सर्वाेच्च अदालतले २०७६ चैत्र २८ गते शुक्रबार थुनछेक बहस खुल्ला गर्ने निर्णय ग¥यो ।सर्वाेच्चको निर्णयलाई लिएर केहि कानुन ब्यवसायीहरुले महामारीमा असुरक्षा हुने भन्दै विरोध पनि गरे तर देशभरका अदालतमा शुरु भएको थुनछेक बहस शुरु भयो । काभ्रेपलाञ्चोक जिल्लामा मात्रै ६ दिनको अवधीमा १० थान मुद्दामा ९ जना धरौटीमा रिहा भई हिरासत मुक्त भएका छन् ।

‘२५ दिन भित्र अनुसन्धान सकि अदालत पेश गर्नु पर्ने मुद्दाहरु अदालत बन्द हुँदा प्रभावित हुन्थे’–श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले भन्नुभयो–‘तीन जना न्यायाधीश सहित १८ कर्मचारीहरु नियमित अदालत हाजिर भएर सेवा दिईरहेका छौं ।

सर्वाेच्च अदालतको निर्णयले अदालत खुलेपछि अभियोग दर्ता बयान तथा थुनछेकको काम गरिरहेका छौं ।’ सर्वोच्चको निर्णय पछि १० थान मुद्दामा थुनछेक बहस भएको छ । जसमा सवारी ज्यान तथा अङ्गभङ्ग मुद्दा ५ थान छन् ।

ति मध्ये पनौतीमा लार्पवाहि रुपमा टिपर चलाउँदा आमा र बच्चाको ज्यान जाँदा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । स्थानीयहरुको आक्रमणले प्रहरी र स्थानीयहरु समेत घाईते भएका थिए । सोहि घटनाका कारण पनौती क्षेत्रमा कफ्यु समेत लागेको थियो ।

उत्त घटनामा संलग्न टिपर चालक नवराज थापालाई पुर्पक्षका लागि कारागार पठाईएको छ । बाँकी चारवटा मुद्दामा संलग्न सवारी चालकहरु धरौटीमा रिहा भएका छन् ।त्यस्तै चोरी अभियोगमा पक्राउ परी हिरासतमा रहेका बुद्धिमान लामा, कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्वर १५ खुमलटार सातदोवाटोका सुनिल श्रेष्ठ, अनुककुमार रानाभाट, सुसान्त केसी र बाँकेका चन्द्रबहादुर तामाङ पनि धरौटीमा रिहा भएका छन् ।

लागु औषधमा अभियोगमा पक्राउ परेकी सुभद्रा तिमल्सिना र जर्बजस्ति करणी मुद्दामा पक्राउ परेका उग्रचण्डी नालाका एक जना युवालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । अदालत बन्द रहेको भए उनिहरु सबै हिरासतमै रहन्थे । कानुन ब्यवसायी एवं काभ्रे बार इकाईका पुर्व अध्यक्ष नवराज बडालले थुनछेक बहस खुल्ला हुँदा अभियुक्तलाई न्याय मिलेको बताउनु भयो । जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले अदालतले लकडाउनको अवस्थामा पनि अदालतबाट प्रदान गर्नु पर्ने अत्यावश्यक सेवा निरन्तर दिईरहेको बताउनु भयो ।

दफा १५५ बमोजिम परेका ८ वटा निवेदनको सुनुवाई लगायत अन्य थुनछेक मुद्दाहरुमा नियमित अदालतको सेवा सूचारु गरी सेवाग्रहीलाई सेवा प्रदान गरिएको न्यायाधीश ढकालले बताउनु भयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ढकाल सहित तीन जना न्यायाधीश हुनुहुन्छ ।

भिस्मराज प्रसाई र दुर्गा खड्का सहित तीन जना न्यायाधीशहरुले आलोपालो अदालतको सेवा संचालन गरिरहनु भएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले बताउनु भयो । न्यायाधीश तथा कर्मचारीहरुको सुरक्षाका लागि माक्स, सेनिटाईजर, ग्लोब्स तथा नियमित हात धुन साबुन पानी र सामाजिक दुरी अपनाईएको छ ।

सर्वाेच्चकै निर्णय अनुसार प्रहरीले अभियुक्त बुझाउँदा कोरोना संक्रमण नभएको पुष्टी गरेको कागजात पेश गरे पछि मात्रै थुनछेक बहस गर्ने ब्यवस्था मिलाईएको श्रेस्तेदार त्रितालले जानकारी दिनु भयो । जिल्लामा कार्यरत न्यायाधीसहरुले सरकारले खोलेको विपद् कोषमा ७ दिनको पारिश्रमिक जम्मा गर्नु भएको छ भने श्रेस्तेदारले ५ दिन र अन्य कर्मचारीको ५ दिनको तलब जम्मा गरिएको छ ।

आरोप लाग्यो, प्रमाण पुगेन

२०७६ फागुन ११ गते ललितपुरको खुमलटारमा बाबुकाजी महर्जनको होटल पसलमा सोहि ठेगानाका सुनिल श्रेष्ठ, अनुक कुमार रानाभाट, प्रविन सिंजापति र बाँकेका चन्द्रबहादुर तामाङले खाजा खाने क्रममा थोरै मादक पदार्थ सेवन गरे । लगत्तै सुनिलले धुलिखेल नगरपालिका साविक काभ्रे गाविसमा रहेको पानीट्याङ्कीमा रहेको भिलेज एण्ड रिसोर्टमा राति ८ बजे निस्किए ।

९ बजे धुलिखेल आएका उनिहरुले मध्यरातसम्म रक्सि खाए । उनिहरुले सोहि ठेगानकै सुसान्त केसीको गाडी ल्याए । उनले मापसे गरेका थिएनन् । होटलको रिसेप्सनमै बसेर रक्सि खान शुरु गरेको उक्त समुहका सदस्य ४३ बर्षिय अविवाहित प्रविन सिंजापति साढे १० बजे बाहिर निस्किए । सबै आफ्नै तालमा भएकाले आउला भन्ने सोचेर मापसे गरिरहे ।

११.३० बजे राति सुशान्त केसीलाई घरबाट आमा विरामी भएको फोन आए पछि सबै जना त्यहि गाडीमा फर्कने तयारी गरे । तर प्रविन भेटिएनन् । खोजतलास गर्दा पनि नभेटिएपछि उनीहरु मध्यरातमा काठमाडौ फर्किए । भोलिपल्ट विहानै फागुन १२ गते स्थानीयले शब फेला पारे र प्रहरीलाई खवर गरे । उनि तिनै सिजांपति थिए । मापसे गरेर पिसाव फेर्न बाहिर निस्किएका उनि बाटोबाट तल खसेछन् ।

मेरुदण्ड भाँचिएकाले उठ्न नसकेकै कारण मृत्यु भएको शव परिक्षण पछि प्रमाणित भयो । भाई रविन सिंजापतिले फागुन १२ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा शव बुझ्दै पछि कर्तब्य ज्यान सम्वन्धी केहि खुल्यो भने जोहरी दिने विवरण खुलाएर जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनु भयो । प्रहरीले उनिहरु सबै जनालाई साधारण तारेखमा राख्यो ।

२०७६ चैत्र ५ गते पुनः उनिहरु सबैको मिलेमत्तोमा गहु्रुङ्गो बस्तुले टाउकोमा प्रहार गरी मारेको अभियोगमा जाहेरी दिए । तारेखमा आएका सबै जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राख्यो । मुलुक लकडाउनमा परेपछि उनिहरुको थुनछेक बहस अन्योलमा प¥यो । भलै उनिहरुको अनुसन्धानको म्याद बाँकी हुँदै सर्बाेच्च अदालतको निर्णयले सुनुवाईका लागि २०७७ बैशाख २ गते अदालतमा पेश भयो ।

बैशाख ३ गते न्यायाधीश दुर्गा खड्काको इजलाशसले उनिहरु सबै जनालाई आरोप र तथ्य फरक परेकाले धरौटीमा छाड्ने आदेश दिनु भयो । प्रतिवादीहरुको तर्फबाट कानुन ब्यवसायी नवराज बडालले बहस गर्नु भएको थियो । सर्वाेच्चले उक्त निर्णय नगरिदिएको भए उक्त घटनामा संलग्न भएका अभियुक्तहरु सबै हिरासतमा बसिरहनु पर्दथ्यो । थुनछेक बहस मात्रै खुल्ला गर्दा पनि न्याय दिएको अनुभुति हुने कानुन ब्यवसायीहरुको तर्क छ । हिरासतमा रहेकाहरुले पनि पुर्पक्षमा राखे पनि धरौटीमा छाडे पनि समयमै मुद्दाको टुङ्गो लाग्दा सहज हुने बताउँछन् ।

रोकिए चालु मुद्दा

अदालतबाट नियमित हुने प्रकृया अवरुद्ध भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ८ सय ९२ मुद्दा चालु अवस्थामा छन् भने चालु वर्षको चैत्र मसान्तसम्म ७ सय ५६ मुद्दा फैसला भएको श्रेस्तेदार ठाकुरचन्द त्रितालले जानकारी दिनु भयो । म्याद तामेल, मिसिल झिकाउने, फैसला कार्यान्वयन लगायत नियमित मुद्दाहरुको फैसलाका लागि पेशी तोक्ने काम अवरुद्ध भएको श्रेस्तेदार त्रितालले बताउनु भयो ।

लकडाउन खुल्ला भई अदालतले नियमित सेवा शुरु गरेको १० दिन भित्र मुद्दाका सबै पक्षहरुले तारेख लिईसक्नु पर्ने ब्यवस्था अदालतले गरेको छ । लकडाउनका कारण असार मसान्त भित्र पुरा गर्नु पर्ने लक्ष्य धकेलिने संकेत देखा परेको अदालतले जानकारी दिएको छ ।