मस्जिद र मदरसामा झापा प्रहरीको उच्च निगरानी

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

भारतको बङ्गाल तथा विहार राज्यसँग जोडिएको जिल्लाका मस्जिद तथा मदरसामा झापा प्रहरीले उच्च निगरानी बढाएको छ । जिल्लामा ७० वटा मस्जिद र ४९ वटा मदरसा रहेका छन् ।

प्रदेश १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि झापा प्रहरीले जिल्लाका मस्जिद तथा मदरसामा थप उच्च निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बिर्तामोड १ स्थित जामा मस्जिद र दमक ७ स्थित जामा मस्जिदमा २३ जना बसेका छन् । बिर्तामोडमा ९ मध्ये ८ जना भारतीय छन्न् भने दमकमा १४ जना नै भारतीय नागरिक बसेका छन् । बिर्तामोडका ९ जनाकै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट स्वास्थ्य परीक्षण भइसकेको छ प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । त्यहाँ सबैको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाइ छ

दमकमा रहेका १४ जनाकै शनिवार आरडीटीबाट परीक्षण गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउँनुभयो । त्यहाँ पनि रिपोर्ट नेगेटिभ नै आएको उहाँले जानकारी दिनुभयो । १४ जनामध्ये चारको पीसीआर प्रविधिबाट परीक्षण गर्नुपर्ने देखिएकोले उनीहरूको स्वाब कोसी अञ्चल अस्पताल विराटनगर पठाएको उहाँको भनाइ छ ।

जिल्लामा अहिलेसम्म ५२० जनाको आरडीटीबाट परीक्षण गर्दा सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको उहाँको भनाई छ । जिल्लाका मस्जिद तथा मदरसा सञ्चालकहरूसँग समन्वय गरी सबै धार्मिक कर्म बन्द गराइएको छ ।

त्यहाँ बसिरहेकाहरूलाई सेल्फ क्वारेनटाइनका रूपमा मस्जिदभित्रै राखिएको छ । त्यहाँ पनि प्रहरीको निगरानी छ । जिल्लाका अरू मस्जिद तथा मदरसामा कोही नबसेको उहाँको भनाई छ । जामा मस्जिद बिर्तामोडका सचिव एजाज अहमदले मस्जिदहरूमा अहिले ताला लगाइएको जानकारी दिनुभयो । मुस्लिम समुदायमा जमात आउने परम्परा झन्डै ९० वर्ष पुरानो भएको उहाँको भनाइ छ ।

विभिन्न ठाउँमा रहेका मुस्लिम समुदायलाई मस्जिदमा आएर धार्मिक शिक्षा दिने गरेका छन् । जमातमा आउनेहरूले धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, धार्मिक शिक्षा हासिल गर्न लगाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्य र आफूले सिकेको ज्ञान अरूलाई सिकाउन प्रेरित गर्ने गरेको उहाँको भनाइ छ । हरेक मस्जिदमा नमाजभन्दा पहिले अजान हुने गरेको छ । अहिले दुवै कार्य मस्जिदमा रोकिएको छ । नमाज घरमै बसेर पढिरहेको उहाँले जानकारी दिनुभयो । सीमा नाकासँग जोडिएको भद्रपुर, कचनकवल र झापा गाउँपालिकामा मुस्लिम समुदायको बसोबास उल्लेखिय रहेको छ ।