सिन्धुलीमा तराइबाट ल्याइएको तरकारी नष्ट गरियो

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

कोरोना भाईरस्को जोखिम बढेको भन्दै सिन्धुली जिल्लामा बाहिरी जिल्लाका तरकारीमा लगाईएको प्रतिबन्धको समयमा पनि प्रसासनको आखाँ छलेर तराईबाट हरियो तरकारी ल्याएको पाईएको छ ।

प्रतिबन्धको समयमा पनि बाहिर जिल्लाबाट तरकारी ल्याउने गाडी र चालकलाई आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम सिन्धुलीमाढीस्थित विभिन्न ठाँउका तरकारी पसललाई तरकारी बिक्री गरी फर्कदै गरेको ना ५ च २५८३ नम्बरको पिकअप बोलेरो र उक्त गाडीका चालक सर्लाही जिल्ला घर बताउने अमितकुमार यादबलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको हो । कोरोना भाईरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले बैशाख २ गतेदेखि एक साताका लागि सिन्धुली जिल्लामा प्रयोजन हुने तराईका विभिन्न ठाँउबाट आयात गरिने खाद्यन्न, फलफुल, माछा, मासु, अण्डा, कुखुराको चल्ला र हरियो तरकारी प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित समयमा तराईको लालबन्दीबाट हरियोे तरकारी ल्याई सदरमुकाम सिन्धुलीमाढीका तरकारी पसललाई बिक्री गरी फर्कदै गरेको उक्त गाडी र चालकलाई विहान ८ बजेतीर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो । प्रहरीका अनुसार रामेछाप लैजाने भन्दै झुक्याएर उक्त गाडीले तरकारी सदरमुकाम सिन्धुलीमाढीमा बिक्री गरी फर्किएको आशंका गरिएको छ ।

त्यस सम्बन्धमा अनुसन्धान भईरहेको छ । उक्त गाडीले ल्याएर सदरमुकामका तरकारी पसलमा छाडेको करिब डेढ टन तरकारी आईतबार बिहान नै बरामद गरि नष्ट गरेको कमलामाई नगरपालिकाले जनाएको छ । सदरमुकाम स्थित तरकारी उपज बजारका तीन वटा, कालीमाई मन्दिर नजिकका दुई वटा, ढुंग्रेबासको चार वटा, माझीटारको एउटा र दुई नम्बर बजारको एउटा तरकारी पसलबाट करिब डेढ टन हरियो तरकारी बरामद गरी नष्ट गरिएको नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो ।

बरामद गरिएका तरकारीहरुमा खुर्सानी, टमाटर, करेला, बोडी, फर्सी, लौका र चाईनिज साग रहेको उहाँले बताउनुभयो । बरामद गरिएको तरकारी नगरपालिकाको फोहोर फाल्ने ठाँउ डम्पिङ साईडमा लगेर खाल्टो खनी नष्ट गरिएको उहाँले बताउनुभयो । उक्त तरकारी शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा पसलबाट बरामद गरिएको नगरपालिकाले जनाएको छ ।