चीनले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक सार्वजनिक नगरेको ट्रम्पको आरोप

0
Shares

वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना भाइरसका कारण मर्नेको वास्तविक संख्या धेरै हुन सक्ने दावी गरेका छन् ।
शुक्रबार एक ट्विटमा उनले भने ( यो अज्ञात शत्रुबाट भएको मृत्यु आंकडा चीनले बढाएर अचानक दुई गुणा पुर्याएको छ । यो अमेरिकामा भइरहेको मृत्युको आंकडा भन्दा पनि धेरै हो ।

यसअघि शुक्रबार चीनले हुबेइ प्रान्तको वुहानमा अधिकारीहरुले कोविड १९ बाट भएको मृत्युको आंकडामा ५० प्रतिशतले बढाएको थियो । अधिकारीका अनुसार १ हजार २ सय ९० मृत्यु कोरोना भाइरसका कारण भएको हो । यो संख्यासँगै हुबेमा मृत्यु हुनेको आंकडा कुल ३ हजार ८ सय ६९ पुगेको छ । यसले चीनमा यस संक्रमणबाट मर्नेको संख्या ४ हजार ६ सम्म पुर्याएको छ ।
अधिकारीहरुका अनुसार जेल र मुर्दाघरमा मृत्यु संम्बन्धी राखिएको रिपोर्टबाट नयाँ डाटा प्राप्त भएको हो र त्यसैका आधारमा नयाँ आंकडा जारी गरिएको हो ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार चीनमा नयाँ अहिलेसम्म कोरोना संक्रमणको करिब ८४ हजार मामिला पुष्टि गरिएको छ ।
वुहानका अधिकारीहरुले जानी जानी आफुहरुले गलत विवरण नदिएको बताएका छन् । तर स्थितिमा सुधार आएपछि पुन एक पटक सबै संक्रमणका बारेमा जानकारी एकत्रित गरिएको बताए ।

तर चीनमा मृत्युको यो आंकडा त्यतिबेला आएको हो जब त्यहाँको आर्थिक विकासको आंकडामा गिरावटको घोषणा भयो । त्यसैले पनि केही विश्लेषकहरुले चीन जानी जानी यो समाचार लुकाउन चाहेको आंशंका गरेका छन् । यद्यपी यो संयोग मात्र हुन सक्ने पनि अनुमान गरिएको छ ।

विहिबार चीनले अर्थब्यवस्थामा कोरोनाको प्रभावसँग सम्बन्धित आधिकारीक रुपमा आंकडा जारी गर्यो । सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ उत्पादनमा ६ दशमलव ८ प्रतिशतले गिरावत आएको देखाइएको छ । सरकारी आंकडा अनुसार विगत ३ दशकमा पहिलो पटक चीनको अर्थब्यवस्थामा गिरावट आएको हो ।