वासिङ्टन, (एजेन्सी)
अमेरिकाले चीनमाथि जमिनमुनि कम क्षमताको परमाणु बम परीक्षण गरेको आरोप लगाएको छ । यद्यपि चीनले अमेरिकाको उक्त दाबीलाई अस्वीकार गरेको छ ।
हतियार नियन्त्रणसम्बन्धी निकाय आम्र्स कन्ट्रोल कम्पाइन्सले दिएको एक प्रतिवेदनमा यसको जानकारी दिएको छ । तर, उक्त परीक्षणका विषयमा कुनै प्रमाण दिएको छैन । प्रतिवेदनमा चीनको लोप नुर टेस्ट साइट परीक्षणस्थलमा खन्ने र अन्य गतिविधिका प्रमाण भने उल्लेख छ ।
वाल स्ट्रिट जर्नलमा अमेरिकाको विदेश विभागको प्रतिवेदनलाई उद्धृत गर्दै चीनको लोप नुर टेस्ट साइटमा वर्षभरि यसको तयारी भइरहेको उल्लेख गरिएको छ ।
चीनले विस्फोटका क्रममा जिरो इल्डको उल्लंघन गरेको हुन सक्नेमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । जिरो इल्ड त्यस्तो परीक्षण हो जसमा कुनै चेन रिएक्सन हुँदैन, जुन परमाणु हतियारको विस्फोटमा हुन्छ ।
अमेरिकाले यो कम तीव्रताको परमाणु बमको परीक्षणमा चीन र पाकिस्तान मिलेर काम गरिरहेको आशंका व्यक्त गरेको छ । यसले स–साना इलाकालाई निसाना बनाउन सहज हुनेछ ।
अमेरिका र चीन दुवैले १९९६ मा कम्प्रिहेन्सिब बेन्ड ट्रिटी (सीटीबीटी) मा हस्ताक्षर गरेका थिए । यसबीच रिपब्लिकन सांसद टम कटनले एकातिर अमेरिका यो सन्धिको पालना गरिरहेको र अर्कोतिर चीन यसको उल्लंघन गर्दै परमाणु हतियारको क्षमता विकासमा लागेको आरोप लगाएका छन् ।
अमेरिकी डिफेन्स इन्टेलिजेन्स एजेन्सीले गत वर्ष मेमा यस प्रकारको आरोप रुसमाथि पनि लगाएको थियो । तर, त्यो प्रमाणित भने हुन सकेन । अमेरिकामा पनि यो सन्धि तोड्नुपर्ने माग बढिरहेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले झुटो आरोप लगाइरहेको बताए । चीन परमाणु परीक्षणमा रोक लगाउनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनले सधैं एक जिम्मेवार रवैया अपनाइरहेको उनले बताए । अमेरिकाको दाबी पूर्णरूपमा आधारहीन भएको उनले थपे ।











प्रतिक्रिया