लन्डन, (एजेन्सी)
युरोपको केही नेतामाथि कोरोना भाइरसका कारण सिर्जना भएको जनस्वास्थ्य समस्यालाई आफ्ना विरोधीहरू तह लागाउने र शक्ति सुदृढ गर्ने माध्यमका रूपमा दुरुपयोग गरिरहेको आरोप लागेको छ ।
टर्कीमा सामाजिक सञ्जालमा आफ्नो विचार पोस्ट गरेकै कारण सयौं व्यक्ति गिरफ्तारीमा परेपछि र रसियामा पनि कुनै पनि झुटो समाचार प्रचार–प्रसार भएको खण्डमा पक्राउ गर्ने चेतावनी सरकारले दिएपछि यो आरोप लगाइन थालिएको हो ।
यसै गरी पोल्यान्ड र हंगेरीमा पनि प्रजातन्त्र खतरामा परेको महसुस जनताले गर्न थालेका छन् । बीबीसीका पत्रकारहरूले कतै केारोना भाइरसलाई शक्ति कब्जा गर्ने माध्यम त बनाइन लागेको होइन भनी शंका व्यक्त गर्न थालेका छन् ।
हंगेरीका शक्तिशाली प्रधानमन्त्री भिक्टर आर्वानको देशभित्र र बाहिर पनि कोरोना भाइरस समस्यालाई प्रयोग गरी मुलुकलाई एकताबद्ध गर्नु साटो झन्–झन् शक्ति सञ्चय गर्दै गइरहेको आरोप लागेको छ । सबैभन्दा पहिले उनको फिद्सेज सरकारले महामारीका लागि तयारी गर्ने भन्दै ११ मार्चमा संकटकाल घोषणा गरेको थियो ।
त्यसपछि यसले संसद्मा आफ्नो बहुममतको फाइदा उठाइँदैअनिश्चितकालका लागि संकटकाल थपेको थियो । प्राध्यापक जोल्टान जेन्टेलगायत राजनीतिक समीक्षकले संसद्ले सरकारमाथिको आफ्नो नियन्त्रण गुमाएर आत्महत्या गरेको बताएका छन् । ओर्वानको सरकारले मध्यावधि चुनाव र जनमतसंग्रह जस्ता कुरा संकटकाल लागू रहुन्जेल स्थगित भएको जनाएको छ ।
टर्कीको एर्दोगान सरकारले कोरोना भाइरस समस्यासम्बन्धी प्रचारप्रसार गरेकोमा व्यापक गिरफ्तारी गर्न थालेपछि डाक्टरहरू स्वयंले त्यसको विरोध गर्न थालेका छन् ।
महामारीकै मौका छोपेर रसियामा पनि राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाललाई निरन्तरता दिन संविधान संशोधन गर्ने षड्यन्त्र भइरहेको बताइएको छ ।











प्रतिक्रिया