तनहुँमा बाहिरबाट तरकारी तथा फलफूल ल्याउन रोक

0
Shares

मिला दरै,तनहुँ ।

जिल्ला बाहिरबाट तरकारी तथा फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड १९ संक्रमणको जोखिम बढेसँगै तनहुँका स्थानीय तहहरुले देशका विभिन्न भागबाट आयात गरिने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।

व्यास नगरपालिकाको अगुवाईमा बसेको स्थानीय तहहरु, सुरक्षा अधिकारी तथा व्यवसायी समेतको बैठकले भारतको तरकारी समेत देशभित्रैको भनेर आउन थालेपछि जोखिमलाई मध्ये नजर गर्दै सो सहमति भएको हो ।

उनीहरुले जिल्लामा भारत र चीनबाट आउने फलफूल आयातमा समेत प्रतिबन्ध गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशको प्रमुख नाका तनहुँ भएकाले जिल्लाले गर्ने यस्तो निर्णयले प्रदेशको आपूर्तिमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने हेतुले यस्तो निर्णय गरेको बताउनुभयो । ‘आफ्नो क्षेत्रमा सजगता अपनाउने हेतुले तहहरुले बाहिरबाट तरकारी ल्याउन नदिने निर्णय गरेका हुन्,’ उहाँले भन्नुभयो ।

जिल्लाका सबै तहको प्रतिनिधित्व रहेको स्थानीय संकट व्यवस्थापन समितिको नाममा यस्तो निर्णय गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लाभरको जोखिमको अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको बताउनुभयो ।

जिल्लाभित्रका किसानले बजार नपाएकाले तरकारी खेर गइरहेको गुनासो समेत गरिरहेका बेला यसले किसानलाई भने हौसला प्रदान गर्ने भएको छ । केही दिनअघि मात्र आँबुखैरेनी गाउँपालिकाका किसानले आफ्नो तरकारी बजारमा खपत नहुँदा खेर जाने अवस्था आएको गुनासो गरेका थिए ।

आँबुखैरेनीको मार्किचोकका तरकारी उत्पादक किसान शोलबहादुर चितौरेले तत्काल तरकारीको बजार व्यवस्था नगर्ने हो भने किसान ठूलो मार पर्ने अवस्था आएको बताउनुहुन्छ । उहाँले जिल्ला बाहिरका तरकारी नल्याइएपछि आफ्ना उत्पादन खपत हुने विश्वास गर्नुभएको छ ।

‘जिल्लाको माग हाम्रा उत्पादनले धान्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘यो निर्णय सही छ ।’ दैनिक २० हजार किलो तरकारी आँबुखैरेनी गाउँपालिकाबाट मात्र आपूर्ति गर्न सकिने उहाँले दावी गर्नुभयो । ‘जोखिम निराकरण र किसानको राहतका लागि यो निर्णय उपयुक्त छ,’ उहाँले भन्नुभयो ।

स्थानीय तहहरुले जिल्ला भित्र नै प्रवेशमा आउन नदिने भएकाले यसले प्रदेश राजधानी पोखरामा तरकारी अभाव हुने त होइन भन्ने आशंका भने उब्जिएको छ । स्थानीय तहबाट यस्तो निर्णय गर्न लागेको थाहा पाएपछि गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो राखेको बताइएको छ ।

तर स्थानीय तहहरुले यो आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै जोखिम कम गर्न निर्णय गरेको बताएका थिए । इससँगै, प्रदेश राजधानीका लागि तरकारी आपूर्ति गर्न आफूहरु तयार रहेको पनि किसान र व्यवसायीका प्रतिनिधिले बताएका थिए ।

‘तनहुँमै प्रशस्त उत्पादन हुने भएकाले पोखराको माग धान्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ,’ तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ भन्नुहुन्छ, ‘व्यवसायी र किसान आवश्यक आपूर्तिका लागि तयार हुनुहुन्छ ।’