प्रहरीको भूमिका र योगदानको सम्मान गरौँ

0
Shares

सञ्जय शर्मा

संसार कोरोना भाइरसबाट आक्रान्त छ । अमेरिका, बेलायत जस्ता देश अकर्मण्य देखिएका छन् । उनीहरुका सक्षम स्वास्थ्य प्रणाली अहिले बेकामी भइरहेका छन् । खोप तयार गरेर निकट भविष्यमा प्रयोगमा ल्याउन नसकिने स्पष्ट भइसकेको छ । तत्काल यसको उपचार छैन । सामाजिक दुरी नै महत्वपूर्ण उपाय हो । रोकथाम र नियन्त्रणमा चिनले उपयोग गरेको यही उपाय संसारका लागि मुलभूत रणनीति भएको छ । त्यसैले चिकित्सकीय विधीबाट भाइरसलाई जित्न सकिन्न भन्ने स्वीकारोक्तिका साथ लकडाउनको अवधि थपिएका छन् ।

नेपालमा पनि बैशाख १५ गतेसम्मको लागि लकडाउन थपिएको छ । सरकारले फाल्गुन महिनादेखि नै विभिन्न रणनीतिहरु कार्यान्वयनमा ल्याएको छ । कोरोनाको सन्त्रासबाट व्यक्ति व्यक्ति सतर्क भए । समुदायहरु रोकथाममा सक्रिय देखिए । स्थानीय निकायहरुले व्यापक रुपमा सचेतना फैलाउने काम गरे । यस्तो परिस्थितिमा पनि नेपालले कोभिड १९ को रोकथाम र नियन्त्रणमा अपेक्षित सफलता पायो । यसमा सम्पुर्ण नेपालीको योगदान रहेको छ । यसमा हामी सबै बधाईका पात्र हौं ।

लकडाउनको करीब एक महिनामा स्वास्थ्य क्षेत्रमा हाम्रो केही क्षमता विकास भएको छ । सम्भावित महामारी थेग्न सक्षम छौं, विश्वसनीय हुनसक्ने आधार केही छैन । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको अभावले चिनको वुहानमा नेपाली विद्यार्थीलाई लिन जान हाम्रा स्वास्थ्यकर्मीहरु तयार भएनन् । त्यो नेपालमा सङ्क्रमण भित्रिनु अघिको कुरो हो । लकडाउन पछि सुरक्षा सामग्रीहरु भएन भने उपचार गर्न सकिंदैन भनेर स्वास्थ्यकर्मीहरुले आफ्नो चासो देखाए ।

सरकारले अव्यवस्थाकै बिच पनि व्यवस्थापन ग¥यो । अहिले त्यस्तो अवस्था छैन । बैशाख ४ गते ३५ जना चिकित्सकहरु सहितको स्वास्थ्यकर्मीहरुको टोली काठमाडौंबाट धनगढी पुगेको समाचार सार्वजनिक भएको छ । कोभिड १९ को रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा यो सकारात्मक छ ।बैशाख ५ गते एकैपटक थप १४ जना सङ्क्रमित थपिए । यो सामुदायिक सङ्क्रमण हो होइन राज्य स्पष्ट हुनसकेको छैन । तर सामुदायिक सङ्क्रमणको भय भने कायम छ ।

त्यसैले राज्यले चौंथोपल्ट लकडाउनको अवधि थपेको अवस्था छ । रोकथाम र नियन्त्रणका लागि स्थानीय निकाय र सङ्क्रमित समुदायहरु थप क्रियाशील भएका छन् । आम रुपमा नेपालीले अनुशासित भई लकडाउनको पालना गरिरहेका छन् । संसार कोभिड १९ बाट आक्रान्त भएको यस्तो अवस्थामा परिस्थिति आफ्नो काबुमा राख्न सक्नु नेपालको महत्वपूर्ण सफलता हो ।

अहिलेसम्मको सफलताको कारण हामीले प्रदर्शन गरेको आत्मअनुशासन र कायम राखेको सामाजिक दुरी नै हो । भविष्यमा पनि कोरोनालाई नेपालीले जित्ने एउटै विकल्प यही नै हो । यसमा अहिलेसम्म कसैको पनि विमति कहिंकतै देखिएको छैन । यही सफलतासंग जोडिएको अर्को ध्रुवसत्य के हो भने साविकको सफलता नेपालको स्वास्थ्य सेवाबाट प्राप्त भएको होइन । लकडाउन यता स्वास्थ्य प्रणालीमा विकसित क्षमता र स्वास्थ्यकर्मीहरुको इच्छाशक्तिको कारणले पनि पक्कै होइन ।

कोरोनाविरुद्ध संसार निकम्मा भएको वर्तमान अवस्थामा नेपाली स्वास्थ्य प्रणालीले त्यो सफलता दिलाउंछ भन्ने आशा गर्नु मुर्खता हो । नेपाली स्वास्थ्य सेवाको पृष्ठमुमि र व्यापारीकरणको आयामले पनि विश्वास गर्न सकिने ठाउं दिंदैन ।चिकित्सकीय सेवामा नेपालमा सेवाभावको अभाव हामी सबैले देखेकै हौं । राज्यले त्यस किसिमको स्वास्थ्य प्रणाली निर्माण गर्न नसकेकै हो । यसमा कसको दोष हो, अहिले जवाफ खोज्नु अतार्किक हुन्छ ।

व्यक्तिगत सुरक्षा सामग्री नहुंदा पनि कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिइ आफु मर्ने इटालीका स्वास्थ्यकर्मीहरुप्रति लाखौं नमन छ । हजारौं सहकर्मीहरु मर्दा पनि उनीहरुले कहिल्यंै नाई भनेनन । महामारीको कहरले नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पनि त्याग गरि आफ्नो सेवामाथिको दाग हटाउने अपार अवसर दिएको छ ।

कोभिड १९ रोग लागेका विरामीलाई निको पार्नसक्ने क्षमता हामीस“ग छैन यो बुझ्नु जरुरी छ । विरामी कि त आफ्नै स्वास्थ्य स्थिति र प्रतिरक्षा क्षमताले निको भएर जान्छ होइन भने मृत्युवरण गर्दछ । प्रमाणित तथ्य हो । विरामीलाई सहजता दिने काममा अवश्य पनि चिकित्सकीय सेवाले ठुलो भुमिका खेल्न सक्दछ । परिक्षण गरी सम्भावित सङ्क्रमितहरुको परिक्षण र पहिचान गरी छुट्याउने काम पनि स्वास्थ्यकर्मीहरु कै हो ।

नेपाली समाजले स्वास्थ्य क्षेत्रबाट सेवागत त्यागको अपेक्षा राखेको छ । नेपालको स्वास्थ्य क्षेत्र अहिले इतिहासकै कठीन परिक्षाको घडिमा छ ।लकडाउन पुर्ण रुपमा कार्यान्वयन भयो भने सङ्क्रमणलाई सिमित व्यक्ति र क्षेत्रमा राज्यको क्षमताभित्रै कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सकिन्छ । लकडाउन प्रभावकारी नहुने हो वा सुरक्षाकर्मीहरुले नखटिने हो भने भने नेपालको स्वास्थ्य क्षेत्रले विरामीको चाप दुईदिन पनि धान्न सक्दैन ।

दवावमा नपर्दाको र दवावमा परेपछिको स्वास्थ्य प्रणालीको एकपटक अनुमान मात्रै गरौं, लकडाउन प्रभावकारी बनाउनु जरुरी छ भन्ने बुझ्न कठिन हुंदैन । यसमा हरेक नेपालीको बराबर भुमिका छ । रोकथाम र नियन्त्रणमा यदि कसैको भुमिका बढि छ भने त्यो लकडाउन कार्यान्वयन गर्ने गराउने सुरक्षाकर्मीहरुको नै हो, चाहे सिमा नियन्त्रणमा होस् वा आन्तरीक लकडाउन कार्यान्वयनमा होस् ।

अस्थायी क्याम्प खडा गरी देशको सिमा नियन्त्रणका लागि तथा चर्को घाम र बर्षामा देशैभर चोकचोकमा खटिएका सुरक्षाकर्मीहरुप्रति हार्दिक नमन छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या न्युन राख्न सुरक्षाकर्मीको योगदान उल्लेखनीय छ । सङ्क्रमितहरु बढ्दै गएको अवस्थामा भविष्यमा पनि सुरक्षाकर्मीकोे भुमिका झनै महत्वपूर्ण हुने निर्विकल्प छ ।

समुदायले लकडाउनको पालना राम्ररी गरे वा सुरक्षाकर्मीले पूर्णपालना गराए मात्रै स्वास्थ्यकर्मीलाई विरामीको चाप कम पर्दछ । यसरी नेपालको कमजोर स्वास्थ्य प्रणालीका अनेक गल्ती(कमजोरी ढाकछोप गर्न पनि शायद महामारीको यस बखतमा सुरक्षाकर्मीहरुको भुमिका महत्वपूर्ण नै हुनेछ । चिकित्सकको लापर्वाहीले विरामी मर्दा मृतकका आफन्तले अस्पताल र चिकित्सकहरुमाथि आक्रमण गरेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी यिनै हुन्, यो कुरो पनि नबिर्सौं ।

शुरुका दिनहरुमा पानी पनि नखाई सौच पनि नगरी सम्पूर्ण नेपालीलाई कोभिड १९ बाट सुरक्षित राख्न खटिएका सुरक्षाकर्मीहरुका कथाहरु लेखिए । लकडाउन प्रभावकारी बनाउन यसरी खटिएका सुरक्षाकर्मीलाई मास्क पनि उपलब्ध नगराएको फोटो र कथाहरु भाइरल भए । नाइनास्ति नगरी जनताको सेवामा खुरुक्क खटिए । यसरी खटिएका सुरक्षाकर्मीलाई स्थानीयले बोतलमा पानी लगेर खुवाएको भिडियोहरु पनि भाइरल भएकै छन् ।

सुनिएकै छ, सिमामा थप आठ हजार सशस्त्र प्रहरी बल थपिएको छ, सुरक्षाकर्मीको तैनाथी पनि सबै जिल्लामा झनै प्रभावकारी बनाइएको छ । सुरक्षाकर्मीहरु निसन्देह पहिलाको भन्दा बढि र प्रभावकारी रुपमा देशैभर खटिएका छन् ।अमेरीका जस्ता विकसित देश त एकदुई बर्षमा तङ्ग्रिएलान्, यदि महामारीले त्यही रुप नेपालमा लियो भने हामीलाई उठ्न अर्को ५० बर्ष लाग्नेछ । त्यसैले कोभिड १९ लाई शुरुमा नै रोक्नुको हामीस“ग विकल्प नै छैन । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लकडाउनको पुर्णपालना गर्न सबैलाई आव्हान गरेको छ ।

सुरक्षाकर्मीहरु स्थानीयलाई घरमै बस्न अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिक्लन, निक्लनै पर्ने अवस्थामा पनि एकजना मात्रै निक्लन माइकिङ गर्दै टोलटोलमा पुगेकै छन् । चोकचोकमा खटिएका सुरक्षाकर्मीहरुले अनुगमन गरी व्यक्तिगत तहमा नै अनुरोध पनि गरिरहेका छन् । घरभित्रै बसेकाहरुले पनि झ्याल र कौंसीबाट एकचोटी बाहिर चोकमा हेरे देख्न सकिन्छ । हामीलाई घरमा बस्न गाह्रो भएझैं सुरक्षाकर्मीलाई सडकमा उभिन त्यो भन्दा बढि गाह्रो भइरहेको छ, त्यो पनि बुझ्नुपर्दछ ।

घरमा बसिरहन अवश्य पनि सजिलो छैन, अनि यसको विकल्प पनि त छैन । आफुले गरेको सबै ठिक र जे पनि गर्न पाउनु आफ्नो वैयक्तिक अधिकार ठान्ने चरित्र निर्माण गरेका हामीले कफ्र्यु जस्तै लकडाउन पनि तोड्नकै लागि भन्ने मानसिकता विकास ग¥यौं भने निसन्देह नेपाल अमेरीकाको अवस्थामा पुग्ने निश्चित छ । लकडाउनको अवधि लामो हुंदै जांदा स्वभाविक कारणले हामीले धैर्यता गुमाउने सम्भावना रहन्छ । त्यसैले सङ्कटको यस घडिमा हामीले थप धैर्यता प्रदर्शन गर्नुपर्ने खांचो छ ।

सुरक्षाकर्मीले जनतालाई पिटेको वा हिर्काएको विषयका टिकाटिप्पणीहरु नियतवस गरेको तवरले अहिले भाइरल भएको छन् । एकदुई ठाउंमा भएको घटनालाई सबै सुरक्षाकर्मीले गरेको जसरी आम बनाउंदा सुरक्षाकर्मीको योगदानमाथि नाइन्साफी भएन र रु एकादुई गल्ति कमजोरीलाई पहाड बनाउने कामलाई कसरी बुद्धिमानी भन्न सकिन्छ रु स्वास्थ्यकर्मीहरुले भनेको जस्तै कुन हौसलाले काम गरुन् फ्रन्टलाइनमा यी सुरक्षाकर्मीलेरु जनताको निस्वार्थ सेवामा तल्लीन यी सुरक्षाकर्मीको व्यथा कसले बुझिदिने ।

यदि तलब खाएका छन् भन्ने हो भने पनि यिनीहरु आदेशपालक नै त हुन् नि । जनतालाई सुरक्षाकर्मीले पिट्नुपर्छ भन्न खोजेको होइन, जनता पनि सभ्य भई लकडाउनको पालना गर्नुपर्दछ भन्न खोजिएको हो ।हिजो मात्रै नेपाल प्रहरीका एकजना प्रहरीका अधिकारीले डिउटीमा खटिएको प्रहरीलाई नउक्साउन अनुरोध गरेको समाचार आयो । जुन अनुरोध स्वभाविक हो । त्यो समाचारमाथिको प्रतिक्रियाहरु चाखलाग्दा छन् ।

आफुमाथि चौतर्फी प्रहार हुन्छ भन्ने जान्दाजान्दै कुनै पनि प्रहरी जवान वा अधिकारीले बेफ्वाकमा सितिमिति विवेक गुमाउंदैन । विवेक गुमाउनेलाई कानुनसंगत संजायको दायरामा ल्याउनै पर्दछ, त्यो जुनसुकै जस्तोसुकै तर्कका आधारमा अक्षम्य हुनसक्दैन । तर सुरक्षाकर्मीले जनतालाई हिर्काएको समाचार भाइरल भइरहंदा लकडाउनको पूर्णपालना गरेर बसेका असङ्ख्य नेपालीले अरुको स्वास्थ्य सुरक्षामा खेलबाड गर्नेलाई पुलिसले खुट्टा भाच्नुपर्दछ भन्ने तर्क गरिरहेको पनि हामीले बिर्सनु मिल्दैन ।

यस प्रकारको आम तर्क भाइरल हुंदैन र बनाइदैन, तर यो तर्कको गाम्भिर्यता र यो तर्क गर्नेहरुको चासो पनि सबैले बुझ्नुपर्दछ । उपचार नै नभएको कोरोना भाइरस जस्तो अदृष्य शत्रुसंग हामीले विवेक र धैर्यताले लड्ने हो । आरोप प्रत्यारोप, तथा सही र गलतको पक्ष र विपक्षमा हुने बहस र विवादले कोरोनालाई जित्न सकिंदैन । नेपाली जातिको विशेषता नै धैर्यता र एकता हो ।

योे चरित्रलाई हामीले कायम राख्नुपर्दछ । पहिले एक जना बाहिर निक्लने, त्यसपछि दुईजना र क्रमशस् समुह नै बाहिर निक्लने अवस्थामा पुग्यौं भने हामीले कारोना भाइरसमाथिको नियन्त्रण निश्चित रुपमा गुमाउंनेछौं । अनि अहिलेसम्मकोे हामी सबैको त्यागका साथै सबैले प्रदर्शन गरेको स्वःअनुशासन र दृढता बेकार हुन्छ । समयले हामीलाई सङ्कटको गम्भीर अवस्थामा ल्याई पु¥याएको छ ।

स्वविवेक र समझदार स्वनिर्णयले नै कोरोना भाइरसलाई जित्ने विश्वसनीय आधार तयार हुनेछ ।त्यसैले हामी आमनागरिकले धैर्यता र विवेक गुमाउन मिल्दैन । भोक प्यासमा सांझ बिहान आफ्नो परिवार पनि नभनि खटिएका सुरक्षाकर्मीलाई सहयोग गर्न हामी अरु केही समय घरमा नै बसौं । कोभिड १९ को निदान डाक्टरस“ग छैन । यसको डाक्टर हामी हरेक व्यक्ति हौं । समुदायले महत्वपूर्ण डाक्टरको काम गर्न सक्दछ ।

सामाजिक दुरी कार्यान्वयन गराउन लकडाउनमा बाहिर तैनाथ सुरक्षाकर्मीहरुले नै यो रोगबाट हामीलाई बचाउन सक्छन् । कोरोना भाइरसविरुद्धको यस लडाईंमा हरेक नागरिकले आफ्नो महत्वपुर्ण दायित्व आफुले पहिला बुझौं, त्यसपछि अरुलाई दायित्व सम्झाउनु पर्ने आवश्यकता नै रहंदैन ।कोराना भाइरस रोकथाम, नियन्त्रण र निर्मुलीकरणमा राज्यले स्वास्थ्य सेवालाई प्राथमिकता दिने हो कि सामाजिक दुरी प्रभावकारी रुपमा कायम गर्न सुरक्षात्मक रणनीतिमा ध्यान केन्द्रित गर्ने हो, यस विषयमा अहिले नै घनिभुत बहस हुनुपर्दछ ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा को बढि महत्वपूर्ण भन्ने वहसको जवाफ समयले नै देला । तर अहिले नै रणनैतिक प्राथमिकता निर्धारण नगर्ने हो भने हामी कोरोना भाइरस भन्दा पछाडि पर्नेछौं । जुन बेला हाम्रो क्षमता महामारीको बिजोक हेर्नमा मात्रै केन्द्रित गर्नसक्ने अवस्थामा पुग्नेछौं । त्यति बेला न तर्कले काम गर्छ, न बहसले नै काम गर्छ । प्रहरीको लौरी पनि निष्प्रभावी हुनेछ ।

कोभिड १९ विरुद्धको राष्ट्रिय लडाईं जित्ने एउटै विश्वसनीय आधार सुरक्षा मात्रै हो, चाहे त्यो विस्तारै सङ्क्रमण फैलिंदै गरेको अहिलेको प्रारम्भिक अवस्थामा होस् वा महामारीको सम्भावित गहिराईमा । निरोधात्मक सामाजिक दुरी कायम गरेर मात्रै सफलता हासिल गर्न सकिन्छ । अहिलेको अवस्थामा संसारले नै सुरक्षात्मक उपायलाई कोरोना भाइरसविरुद्धको अचुक विकल्पका रुपमा प्रयोग गरिरहेको छ ।

हामीले पनि यसमा चुक्नु हुंदैन । यो आफ्नै सुरक्षाको लागि हो । आफ्नो परिवार र प्रियजनका लागि हो ।लंडाईको अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले एकअर्काको कामलाई परिपुरण नगर्ने हो भने नेपालको हार निश्चित छ । सङ्क्रमितहरुलाई सघन उपचार स्वास्थ्यकर्मीले दिन्छन् । सम्भावित सङ्क्रमितहरुलाई परिक्षण गर्दछन् ।

सुरक्षाकर्मीले सङ्क्रमितहरुको सम्पर्कमा आएका सम्भावित सङ्क्रमितहरु पहिचान गर्ने, खोज्ने र क्वारेन्टिनमा राखि परिक्षणको दायरामा ल्याउने चुनौतिपूर्ण कार्यहरु तथा लकडाउन कार्यान्वयनमा अहोरात्र खटिएका छन् । भविष्यमा पनि यो काम सुरक्षाकर्मीकै कांधमा निरन्तर रहने निश्चित छ । हाम्रो सफलता हामी प्रत्येक नेपालीको विवेक र धैर्यतामा निर्भर गर्दछ । स्वास्थ्य सेवाको धर्म र नैतिकताबमोजिम सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई अभिप्रेरणा दिऔं ।

सुरक्षाकर्मीहरुलाई विवेक गुमाउने अवस्थामा नपु¥याऔं । आफ्नै सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको हौसला बढाऔं, सभ्य नागरिकका रुपमा सहयोगी बनौं । प्रहरीको भुमिका र योगदानलाई सम्मान गरौं ।