नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो

0
Shares

भगवती तिमल्सिना, काठमाडौं । 

कोरोना संक्रमितको संख्या राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरे अनुसार ३० जना पुगेको छ । सरकारले आधिकारीक रुपमा पुष्टि गर्न बाँकी रहेका उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना संक्रमण प्रमाणित भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ ।

कोरोना संक्रमण देखिएका १२ जना सबै उदयपुर मस्जिदमा लुकेर बसेका एउटै समूहका व्यक्ति हुन् । चितवनमा थप २ जनामा पनि पोजेटिभ पुष्टी भएको छ । यसँसँगै एकैदिन नेपालमा १४ जनामा कोरोना संक्रमितको संख्या बढेको छ ।

उदयपुर १६ जनाको समूह लुकेर बसेको थाहा पाएपछि प्रशासनको सक्रियतामा उनीहरुको थ्रोट स्वाब परिक्षण गराएको थियो । कोशी अञ्चल अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा ६ जनाको पोजेटिभ देखिएको थियो भने ६ जना शंकास्पद पाइएको थियो । पोजेटिभ देखिएका र शंकास्पद ६ जनाको गरि १२ जनाकै स्वाब राष्टिय जनस्वास्थ्य प्रयोगशालामा दुई पटक परिक्षण गर्दा सबैको पोजेटिभ आएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएकोछ ।

त्यसैगरी बिहीबार चितवनस्थित प्रयोगशालामा पिसिआर परिक्षणमा पोजेटिभ देखिएका २ जनाको पनि राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ प्रमाणित भएको भनिए पनि स्वास्थ्य मन्त्रालयमा रिपोर्ट आई नसकेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।