मजदुर र विद्यार्थीलाई डेरामै राहत

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङस्थित दिपु्रङ चुईचुम्मा गाउँपालिकाले शहरमा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहतको प्याकेज ल्याएको छ । गाउँपालिकावाट काठमाडौं, बिराटनगर, धरान लगायत जिल्लाभन्दा बाहिरका शहर बजारमा ‘लकडाउन’को मार खेपिरहेका श्रमिक तथा विद्यार्थीहरुका लागि गाउँपालिकाले डेरा–डेरामै राहत पुर्‍याईदिने प्याकेज ल्याएको हो ।

सरकारले लगाएको ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि राहतका प्याकेज ल्याइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।‘लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई तत्तत् स्थानमा राहत उपलव्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

विदेश जान लाग्दा ‘लकडाउन’ले काठ्माण्डौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनकाक्रममा शहर बजारमा रोकिएका पालिकाबासीका लागि समेत सो राहत प्याकेज उपलव्ध गराइने अध्यक्ष राईको भनाई छ । तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तीले भने राहत पाउने छैनन् । शहरबाट जसोतसो गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पुर्‍याइदिने तयारी गरिएको हो ।

शहर बजारमा बाँडिने राहत गाउँपालिकाबासीले नपाउने भएकाले गाउँबाट शहरमा राहत पठाउन लागिएको अध्यक्ष राईले सुनाउनुभयो । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका पालिकाबासीलाई हाल बसिरहेकै ठाउँमा राहत पुर्‍याउनका लागि फोकल पर्सनलाई सम्पर्क गर्न आग्रह गरेको छ । राहत प्याकेज लिनका लागि कर्मचारीहरु सञ्जिप आचार्यको सम्पर्क नम्बर ९८२५७७४७७४र९८४२८७७४३७, ओमसरा राई ९८६२८१४००९ र सुनिता राईको सम्पर्क नम्बर ९८२५७९५०५३ मा सम्पर्क गरेर आफ्नो विवरण उपलव्ध गराउन आग्रह गरिएको छ ।

लकडाउनमा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक सेवा पाए मात्र राष्ट्रिय अभियानकारुपमा रहेको ‘लकडाउन’ सफल हुने अध्यक्ष राईको धारणा छ ।