स्वास्थ्य मन्त्रालयद्वारा कोरोना रोकथामका लागि १३ अर्ब अतिरिक्त बजेट माग

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

आर्थिक बर्ष २०७७/०७८ का लागि स्वास्थ्य तथा नजसंख्या मनत्रालयले कोरोना नियनत्रणका लागि मात्र १३ अर्व अतिरिक्त बजेट माग गरेको छ ।

राष्ट्रिय योजना आयोगको अगुवाईमा विहीबार सिंहदरबारमा भएको आगामी बर्षको बजेटसम्वन्धी छलफलमा स्वास्थ्यले कोरोना नियन्त्रणका लागि सिलिङ बाहेक अतिरिक्त १३ अर्व चाहिने प्रतावना प्रस्तुत गरेकोमा योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरु सकारात्मक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योजना आयोगले आगामी आर्थिक बर्षका लागि स्वास्थ्यलाई ५३ अर्व ८३ करोड ५४ लाख रुपैयाँको बजेट सिलिङ पठाएको थियो । त्यसमा स्वास्थ्य बीमा ६ अर्व ५० करोड र भवन निर्माणका लागि १७ अर्व छुट्याएको थियो । त्यसबाहेक अरु योजना स्वास्थ्यले आवश्यकता अनुसार बनाउन तोकेको थियो ।

‘बिहीबारको बैठकमा कोरोना महामारी रोक्न योजना आयोगले छुट्याए भन्दा थप विशेष बजेट आवश्यक रहेको प्रस्तावनामा योजना आयोग र अर्थका अधिकारीहरु सकारात्मक देखिनुले बजेट थप हुन सक्ने सम्भावना प्रवल रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यसपटक स्वास्थ्य र शिक्षामा लगानी थप्न योजना र अर्थका अधिकारीहरु सकारात्मक देखिएको बैठकमा सहभागी शिक्षा मन्त्रालयका एक सदस्यले जनाएका छन् ।

विश्व व्यापी रुपमा कोरोना भाइरसले स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा स्वास्थ्य र शिक्षामा बजेट बढ्नु स्वभाविकै हो । यतिबेला अन्य क्षेत्रमा काम गर्ने वातावरण बन्ने नसकेको र सबैको ध्यान विशेष गरि कोरोना नियन्त्रणमा केन्द्रित भएको अवस्थामा अतिरिक्त बजेट थप गर्नु स्वभाविक भएको विशेषज्ञहरुको पनि ठम्याई रहेको छ ।