तीन दिनमा काठमाडौं महानगरका ४०३ जनाको र्‍यापिड टेस्ट सम्पन्न, सबै नतिजा नेगेटिभ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाको संक्रमण थाहा पाउन काठमाडौं महानगरले बुधबार, बिहीबार र शुक्रबार ८ वटा वडाका ४०३ जनाको आडिटि ( र्‍यापिड डाइनोस्टिक टेस्ट) गरेको छ ।

२०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरुको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो । परीक्षण गरिएका वडाहरुमध्ये सबैभन्दा धेरै वडा ३१ का ११९ जना र दोश्रोमा वडा ३२ का ११३ जना थिए । सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार वडा ४ का ५१ जना, १५ का ४८ जना ५ का ३९ जना, २२ का १७ जना, १० का १३ जना र ९ का ३ जना छन् ।

परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ 

वडा ९, १०, ३१ र ३२ का व्यक्तिहरुका लागि मीनभवनस्थित साविक ट्रली बस स्टेशन भएको ठाउँमा र वडा ४ का वडाबासीका लागि सुकेधारास्थित बागमती कलेजमा परीक्षण गरिएको थियो । त्यस्तै वडा ५ को वडा भवनको प्राङ्गणमा र वडा १५ र २२ वडाबासीका लागि डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्मा परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका स्थानहरुमा महानगरका प्रमुख बिद्यासुन्दर शाकय, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरुले निरीक्षण अनुगमन गर्नुभएको थियो ।

महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार फागुन १८ गतेपछि स्वदेश फिर्ता भएका २६३ जना व्यक्तिको नामावली संकलन भइसकेको छ । महानगरले आरडिटि शुरु गरेपछि यो संख्या बढ्न थालेको छ । सबैको परीक्षण नसकिउञ्जेल जाँच कार्यलाई निरन्तरता दिइने बिभागका प्रमुख ढकालको भनाइ छ ।