लकडाउन अवधीभर उपत्यका नछाड्नुहोस्, समस्या परे हामी छौँ : उपत्यका नगरपालिका फोरम

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लकडाउनका बाबजुद पनि नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरम, काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ ।

उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलका क्रममा यस्तो आग्रह गरेको हो । ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ । हामी यो लकडाउनको पूर्ण समर्थन गर्दछौँँ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवद्ध गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहि सुरक्षित बस्नुहोला ।’

प्रमुख शाक्यले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै पर्न नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै पर्न थालेपछि उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट सम्पे्रषित भैरहेका छन् । ती समाचारप्रति हाम्रो ध्यान पुगेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘नगरपालिका फोरमको अध्यक्ष र काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतले उपत्यकावासीलाई भन्न चाहन्छु । तपाईँहरुलाई केही समस्या छ भने उपत्यकाका सबै नगरपालिकाहरुको वडा कार्यालयमा सम्र्पक गर्नुहोला । हामी राहतको व्यवस्था गर्न तयार छौँ । कतै भोकै परेको जानकारी छ भने टोल फ्री न। ११८० र ११३१ मा जानकारी दिनुहोला हामी समाधान गर्छौ ।’

उहाँले उपत्यका बाहिर रहेकाहरुलाई पनि लकडाउन अवधिभरी उपत्यका भित्र प्रवेश नगरिदिनुहुन आग्रह पनि गर्नुभयो । ‘तपाईँहरु जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहुन अनुरोध छ,’ उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर लकडाउनको पूर्ण पालना गर्न सक्यौँ भनेर मात्रै कोरोना नियन्त्रण र रोकथाम गर्न सक्छौँ ।’

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ । ‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ ।’