खोटाङमा ५५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा विदेशबाट फर्किएका ५५ जनाको नोबेल कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

गत चैत यता विभिन्न देशबाट घर फर्किएका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, जन्तेढुंगा गाउँपालिकाका २० जना र बराहपोखरी गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टी गर्नका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि बैशाख ३ गतेदेखि सम्वन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्ने १ सय २० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १ सय २० जना व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको छ ।

बैशाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैशाख ७ केपीलासगढी गाउँपालिकामा बैशाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैशाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका छ ।
चैत्रअघि घर फर्किएका र काठ्माण्डौंबाट घर फर्किएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुःन परीक्षण किट माग गरिएको प्रजिअ पौडेलको भनाई छ ।

कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

केही समयअघि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणकाक्रममा कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि पुःन उनको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले सुनाउनुभयो ।