आप्रवासी कामदारको खाने र बस्ने सुविधा कटौती गर्न नपाउने कतार सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, हेटौंडा । 

कतार सरकारले आप्रवासी कामदारहरुको खाने र बस्ने सुबिधा कटौती गर्न नपाइने बताएको छ । त्यहाँ विभिन्न क्षेत्रमा कार्यरत् कामदारहरुलाई रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउनेसहमति गर्न सकिने भए पनि उनीहरुको अत्यावश्यक खाने र बस्ने सुबिधा कटौती गर्न नपाइने भनिएको कतारबाट पत्रकार अनिल पराजुलीले बताएका छन् ।

कोरोना भाइरस रोकथामका प्रयासअनुरुप सरकारी निर्देशनमा सेवा वा काम बन्द भएका क्षेत्रको दीर्घकालीन निरन्तरताका लागि वर्तमान संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय भएको नेपाली दुतावास दोहा, कतारले आफ्नो पेजमार्फत् जानकारी गराएको पत्रकार पराजुलीले बताए ।

कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले १५ अप्रिलमा जारी गरेको ‘वर्तमान संकटमा करार सम्बन्धको नियमन’ सम्बन्धी वक्तव्यमा हालको अबस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरणका लागि कामदार र रोजगारदाताबीच सहकार्य अत्यन्त आवश्यक रहेको बताइएको छ ।

काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमितरुपमा करारअनुसार आधारभुत तलब सुबिधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने, क्वारेन्टाइनमा परेका वा संक्रमित भएर उपचाररत् कामदारले बिरामी बिदा उपलब्ध भए पनि वा नभए पनि आधारभुत तलब सुबिधा पाउने भनिएको छ ।

हालको सम्झौताको आधारमा र प्रचलित कानुनको अधिनमा रही रोजगारदाताले सम्झौता मुताविक पूर्वसूचना दिएर रोजगार सम्झौता रद्ध गर्न सक्नेछन् । यस्तो अबस्थामा कामदारले पाउनुपर्ने बाँकी सुबिधा र हवाइटिकट उपलब्ध गराउनुपर्ने बताइएको छ ।

सम्झौता रद्ध गरिएका कामदारलाई समेत रोजगारदाताको खर्चमा कामदार स्वदेश फर्कने प्रक्रिया पूरा नभएसम्म खाने र बस्ने सुबिधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने छ । कतार सरकारले तोकेबमोजिम सबै सेवासुबिधा कामदारलाई उपलब्ध गराउनुपर्ने बताइएको छ ।

कार्यक्षेत्र, आवास वा श्रम सम्बन्धी समस्या परेमा मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गर्न सकिने छ । आफ्नो कतार आईडी वा भिसा नम्बरको अगाडि ५ थपी ९२७२७ मा एसएमएस पठाउन सकिने छ । विभिन्न भाषामा उपलब्ध यो सेवा २४ सै घण्टा खुला रहने नेपाली दुतावास कतारले आफ्नो सामाजिक संजालमार्फत् जानकारी दिएको छ । कतारमा हाल करिब चार लाख नेपाली कार्यरत् छन् ।