चीनमा मृतकको तथ्यांक सच्याइयो, ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३६ पुग्याे


बेइजिंग,(एजेन्सी)

कोरोना भाइरसको शुरुवात भएको चीनमा यसअघि निकालिएको मृतकको संख्या सही नहुनुपर्ने भनी विश्वमा व्यापक अडकलवाजी भइरहेको बेला चीनले शुक्रवार हुवेइ प्रान्तको वुहान शहरमा मर्नेको संख्या सच्याएर थप १ हजार २ सय ९० सार्वजनिक गरेको छ ।

चीन सरकारले गत डिसेम्वरमा पहिलोचोटि कोरोना संक्रमित भेटिएको वुहानमा मृतकको संख्या गणनामा त्रुटी भएको स्विकार गरेको छ । अब चीनभरि कोभिड १९ को ज्यान गुमाउनेको कूल संख्या ४ हजार ६ सय ३६ पुगेको छ ।

केहि बिरामीको घरमै मृत्यु हुनु , महामारीकोबेला ढिलो र अपूर्ण समाचार संकलन हुनु तथा महानगरबाट जिल्ला र स्थानिय स्तरमा अस्पतालसेवा शुरु गरिँदा र निजी अस्पताल पनि उपचारमा सरिक रहँदा केन्दि्य महामारी संजाललाई समयमै सुचना प्राप्त नहुनु जस्ता कारणले तथ्यांकमा त्रुटी देखिएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ ।