हिन्दू शवका मुस्लिम मलामी


भोपाल, (एजेन्सी)

भारतमा कोरोना भाइरस संक्रमण फैलाउने कार्यमा मुस्लिम समुदायको लापरबाहीलाई दोष दिँदै तनाब बढिरहेका बेला भोपालमा भने हिन्दूको शवमा मुस्लिम मलामी मात्र गएनन्, शव बोक्न काँध पनि थापे ।

एक हिन्दू महिलाको मृत्युपछि मुस्लिम छिमेकीले उनको शव घाटको शवदाह गृहसम्म लगिदिए । तर समाजका सदस्यहरु लकडाउनका कारण मद्दतमा आउन सकेनन् । शवयात्राका क्रममा सबैले राम नाम सत्य पनि बोलिरहेका थिए । विपत्तिको समयमा यो मानवता भोपालको टिलाजमालपुराका बासिन्दाले देखाएका हुन् ।

टिलाजमालपुरा निवासी मोहन नामदेव इलाकामा बरफगोला बेच्न ठेला चलाउँथे । उनकी ५० वर्षीया पत्नी क्षमाको मृत्यु मंगलबार भएको थियो । अर्थी बोक्न चार जना आवश्यक थियो तर घरमा मोहनका दुई छोरा मात्र थिए । दुई छोराले आफ्नो साथी आदिलको मद्दतबाट आमाको शव नगर निगमको गाडीबाट घर लिएर आए ।

बुधबार आदिलले बस्तीका सबैलाई यसको जानकारी दिए । त्यसपछि स्थानीयसँग मिलेर शव सजाएपछि क्षमाका दुई छोरा र बस्तीका मुस्लिम युवक शव लिएर छोला रोडस्थित शव दाहगृह पुगे, जहाँ उनको अन्तिम संस्कार भयो ।

भोपालमा कोरोना कहरका कारण प्रशासनले शवयात्रामा १५ जनालाई मात्रै सहभागी हुन अनुमति दिएको छ ।