र्‍यापिड टेष्ट सुरु भएकै दिन चार जनामा कोरोना संक्रमण देखियो

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

हेटौंडामा सुरु भएकै दिनको र्‍यापिड टेष्टमा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा सुरु भएको टेष्टमा चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । एक महिला तथा तीन पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

हेटौंडा–४ को बासुदेव सभागृहमा टेष्ट गर्दा पोजेटिभ देखिएको हो । उनीहरुमध्ये भारत बिहार घर भएर हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय बृद्ध, भारत बेंगलौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक छन् । उनीहरुलाई पीसीआर जाँचका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाइएको छ ।

र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमा कोरोना संक्रमण छ/छैन भन्ने ल्याब टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । आरडीटी प्रविधिबाट ४० जनाको परीक्षण भएको थियो । उनीहरुमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको टेष्टमा मेलान मकवानपुरको प्राविधिक सहयोग छ ।
हेटौंडा उपमहानगरपालिकाले आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरेकोे छ । उपमहानगरपालिकाका सबै वडामा विदेशबाट फर्किएकाहरुलाई घरमा पुगेर र्‍यापिड टेष्ट सुरु गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) लागेको छ/छैन भनेर परीक्षणका लागि टेष्ट गरिएको उपमहानगर मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

पाँच स्वास्थ्यकर्मी टोलटोलमा खटाइएको छ । स्वास्थ्यकर्मी टोलीले हेटौंडाको वडा नम्बर–४, ५ र १५ मा टेष्ट गरेको मेयर महतले बताउनुभयो । अन्यलाई पनि र्‍यापिड टेष्टको काम निरन्तर गरिने उहाँले बताउनुभयो । नगरका वडाहरुमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मीलाई टेष्ट गर्न खटाइएको हो ।

थाहा नगरपालिकामा पनि आरडीटी शुरु भएको छ । थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।