लकडाउनमा सम्बन्ध विच्छेद रोक्न जापानले नयाँ उपाय ल्यायो

0
Shares

टोक्यो (एजेन्सी) ।

कोरोना भाइरसका कारण विश्वका धेरैजसो घरमै थुनिएका छन् ।

भाइरस संक्रमणबाट सामाजिक दुरी राख्नु पर्ने भनिए पनि एउटै घरमा थुनिएर बस्नु भनेको कम जोखिम भने होइन । यसले सामाजिक सम्बन्धका कारण सँगै बस्नु पर्नेहरुबीच सदाका लागि सामाजिक दुरी बनाउन सक्ने खतरा स्वाभाविक हो । संयम र सहनसक्ती मात्रै यसको एक मात्र औषधी हो जुन आधुनिक समाजमा सबैभन्दा दुर्लभ हो । किनभने यसको अवलम्बन भन्ने र सुने जस्तो सरल होइन, यो आफैमा पिडा र कहिलेकाहीँ अपमान वोधको कारण बन्छ ।

कोरोना भाइरसका कारण लकडाउनमा परेको चीनको वुहान सहरमा एक महिना नवित्दै जीवनभरी साथ दिने र बस्ने प्रतिबद्धतामा विवाह बन्धनमा बाँधिएकाहरुमा विचलन आएको देखियो । यो अवधिमा तुलनात्मक रुपमा धेरै यसता जोडी सम्बन्ध विच्छेदका लागि सम्बन्धित निकायकोमा पुगे ।

यो संकट नआओस भनेर जापानमा नयाँ उपाय निकालेको छ । सम्बन्धको डोरी नचुडोस र सम्बन्ध विच्छेद हुनबाट नागरिकलाई बचाउन र यो सँगै ब्यापार ब्यवसाय पनि फस्टाइरहन दिन जापानले यो नयाँ सोच ल्याएको हो । यहाँ भाडामा बस्नेहरुलाई फ्ल्याट उपलब्ध गराउने एक जापानी फर्मले यसतो तनावग्रस्त जोडीका लागि आफनो खाली अपार्टमेन्टमा बस्न आउन सुझाव दिएको छ ।

टोक्योको कासोकु कम्पनीले आफ्नो विज्ञप्तीमा कोरोना भाइरस संक्रमणका क्रममा सम्बन्ध विच्छेदका बारेमा सोच्नु अगाडी आफुसँग कुरा गर्न भनेको छ । कम्पनीले तमाम सुविधायुक्त आफनो अपार्टमेन्टमा रहन उनीहरुलाई प्रस्ताव पनि दिएको छ । समाचार अनुसार कम्पनीको उक्त प्रस्ताव अप्रिल ३ देखि सुरु भइसकेको छ र केही जोडीले यसको फाइदा पनि उठाइरहेका छन् ।

जापानमा कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको छ । देशमा अहिलेसम्म कोरोना संक्रमणको ८ हजार नाघिसकेको छ भने यस महामारीबाट अहिलेसम्म १ सय ७८ को मृत्यु भइसको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना संक्रमणलाई ध्यानमा राख्दै टोक्यो, ओसाका र अन्य ५ प्रान्तमा आपतकाल घोषणा गरिसकेको छ ।