दक्षिण कोरियाकाे राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ दल विजयी


काठमाडाैँ ।

दक्षिण कोरियामा बुधबार भएको राष्ट्रियसभाको निर्वाचन राष्ट्रपति मुन जाइ-इनको पार्टी भारी बहुमतसहित विजयी भएको छ । जनताले नोभेल कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारको भूमिकालाई साथ दिँदै सत्तारुढ दललाई विजयी बनाएका हुन् । ३०० सिटका लागि भएको निर्वाचन सत्तारुढ दल मिन्जो (डेमोक्रेटिक) पार्टीले १६३ सिट ल्याउँदै जित हात पारेको हो ।

कोरोना भाइरस महामारीबीच राष्ट्रिय निर्वाचन गर्ने दक्षिण कोरिया पहिलो मुलुक हो । दक्षिण कोरियामा सन् १९८७ यता कुनै पनि पार्टीले बहुमत प्राप्त गरेको पनि यो पहिलोपटक हो।

मतदाताहरुले मतदानस्थल पुग्‍नुअघि उनीहरुको ज्वरो जाँच गरिने, मास्क र पञ्‍जा अनिवार्य लगाउनुपर्ने र एक मिटरको दूरी कायम गरेपछि उनीहरुलाई मतदान गर्न दिइएको थियो ।