युवाशक्तिको दुरुपयोग नहोस्



नेपालमा रोजगार दिन नसक्ने सरकार र सरकारमा संलग्न दलहरूले युवाशक्तिको दुरुपयोग गर्दै आएका छन् । आफ्नो दलमा झन्डा बोकाउने र उनीहरूलाई आफू अनुकूल प्रयोग गर्न रोजगारीका सम्भावना बन्द गरिएको छ । नेपालमा युवाशक्तिले इतिहासबाटै धेरै काम गरेका छन् । युवा भनेको समाज बदल्ने सकारात्मक ऊर्जाको मुहान हो ।

समाज विज्ञानको अथाह शक्तिको स्रोत युवा, जसको साहस, जोश अनि बहादुरीले इतिहासको जन्म हुन्छ ।
नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूको अग्रभागमा युवाशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाल र नेपाली जनताको विरुद्धमा उभिनेहरूका विरुद्ध हाम्रा पुर्खाहरूले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोको स्वाभिमान बचाए ।

आज पनि तिनै वीर नेपाली शहीदहरूका सन्तानले नेपाली जनताको अधिकार र स्वाभिमान लिलाम गर्न तम्सिएका विदेशी शासकका दलालहरूको हर्कतविरुद्ध धावा बोलिरहेका छन् । जनभावनाको सम्मान नगर्ने निरंकुश शासकहरूलाई युवाशक्तिले लाठी र खुकुरीको भरमा सत्ताच्यूत गरेको कसैले बिर्सेका छैनन् । अहिले पनि शासकहरूको विरुद्ध कठिन, लामा मोडेलको संघर्ष युवाहरूद्वारा जारी गरिएको छ । भ्रष्टाचार, गुन्डागर्दी, दलाल, तस्कर अनि देशलाई अन्धकारतिर धकेल्नेहरूविरुद्ध आज हरेक नागरिकहरूले संघर्ष गरिराखेका छन् ।

जनताको परिवर्तनको चाहनाका बाधक तत्वको समूल नष्ट गर्ने कामको जिम्मेवारी पनि अहिले युवाहरूकै काँधमा आएको छ । यो काम पक्कै पनि बेरोजगार युवाहरूको लागि चुनोतीपूर्ण नै छ । तर दलाल, तस्करहरूसँग नझुकी नेपाली स्वाभिमानी युवाहरू एक कदम अघि बढिसकेका छन् । यो देशका सचेत युवाहरू योजनाबद्धरूपमा ती प्रवृत्तिका विरुद्ध लडाइँ गर्न तयार भएका छन् ।

तर ती युवालाई बेरोजगार बनाएर सरकारले निकै ठूलो समस्या निम्त्याउने निश्चित प्रायः छ । सरकारमा कुर्सी टिकाउने मात्रै खेल हुँदा पनि अहिले यो समस्या सिर्जना भएको छ । यसको व्यापकरूपमा विरोध गरेर रोजगारीको अवस्था सिर्जना गर्न युवावर्गले दबाब दिन जरुरी छ ।
– सरोज केसी, दाङ ।

कुलत छोडाउन विशेष कार्यक्रम आवश्यक
धूमपान र सुर्ती सेवन स्वास्थ्यका लागि घातक छ । यसले विभिन्न किसिमका स्वास्थ्य समस्या सिर्जना गर्छ । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न रोक लगाउनुको साथै कडा कानुन बनेको छ । तर यसको सफल कार्यान्वयन भने अझैसम्म हुन सकेको छैन । सरकारले सार्वजनिक स्थानमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई १ सय रुपियाँदेखि ५ हजार रुपियाँसम्म जरिबाना तोकेको भए पनि हालसम्म एकजना पनि कारबाहीको दायरामा आएको सुनिएको छैन । सार्वजनिक स्थलमा धूमपान गर्ने प्रवृत्तिमा भने केही सुधार भएको पाइन्छ । नेपालमा धूमपानविरुद्ध जे–जस्ता अभियान चलाइए पनि धूमपान गर्ने मानिसको संख्यामा भने झनै वृद्धि हुँदै गएको छ ।

धूमपानले बिस्तारै ज्यान लिन्छ भन्ने वास्तविकता बोध हुँदाहुँदै पनि कतिपय मानिसले यसैलाई ‘मृत्युमार्ग’ बनाइरहेको पाइन्छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको १८.५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्छन् । हरेक १० मध्ये ४ व्यक्ति यस कुलतमा फसेका छन् । युवापुस्ताले देखासिकी र फेसनका रूपमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ ।

बिस्तारै लतका रूपमा फस्न पुग्छन् । फलस्वरूप कलिलै उमेरमा मुटु रोगको सिकार बन्न पुग्छन् । धूमपानकै कारण मुटुरोगी युवाको संख्या दिनहुँ बढ्दै गएको मुटुरोग विशेषज्ञले जनाएका छन् । स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार नेपालमा धूमपानका कारण प्रत्येक २ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट मात्रै बर्सेनि ३० हजारको हाराहारीमा ज्यान जाने गरेको छ । धूमपानले विशेषगरी हृदयाघात निम्त्याउने गर्दछ । जसको लक्षण अन्तिम अवस्थामा मात्रै देखा पर्छ । त्यसैले हृदयाघातका कारण अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ८३ लाख मानिसले धूमपानकै कारण ज्यान गुमाउने गर्छन् । केही वर्षपहिले ४० वर्षदेखि ६० वर्ष उमेर समूहमा हृदयाघात हुने गरे पनि पछिल्लो समय २५ वर्षका युवामा समेत हृदयाघात देखिनु धूमपानकै असर भएको विज्ञले औंल्याएका छन् । विद्यालय तहदेखि नै हुने धूमपान र मद्यपानका कारण हृदयाघातमा वृद्धि भइरहेको छ ।

धूमपानकै कारण उच्च रक्तचाप, कोलेस्ट्रोल, मृर्गौला फेल, विभिन्न अंगको क्यान्सर, मधुमेह, मानसिक रोग, महिलाको प्रजनन शक्तिमा ह्रास, अपांग, टीबी, दमजस्ता समस्या निम्त्याउने गरेको पाइन्छ । धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघातको सम्भावना पनि ४ गुणासम्म बढी हुने चिकित्सकको भनाइ छ । सुर्तीजन्य पदार्थमा ४ हजार प्रकारका केमिकलमध्ये ३ वटा तत्वले ७० प्रतिशत फोक्सोको क्यान्सर निम्त्याउँछ । विश्वमा प्रत्येक ६ मृत्युमध्ये १ क्यान्सरको कारण हुने गरेको छ । नेपालमा कुल मुटुरोगीमध्ये ९० प्रतिशतले धूमपान गरेको पाइएको छ ।
– समीर मल्ल, पोखरा ।

कागजी विकासले मालामाल
विगतका वर्षझैँ कागजीरुपमा रकम मिलाएर खाने प्रचलन यो वर्ष पनि देखिएको गुनासो बढेको छ । जनताले गाउँमै सिंहदरबार आएको महसुस गर्नुपर्ने बेलामा कागजी विकास देखाएर रकम मिलेमतो गर्ने कार्यमा स्थानीय सरकारले अलि बढी सचेतना अपनाउनुपर्ने देखिएको हो ।

विगतका वर्षझैँ सडकमा हरेक वर्ष देखिने आतंक यो वर्ष पनि कम भएन । यस्तो आतंक रोक्नुपर्ने माग र दबाब पनि बढेको छ । जनप्रतिनिधिहरुले पनि सडकमा डोजर आतंककै रुपमा देखियो भनेर भन्ने गरेको भए पनि आतंक घट्न सकेको छैन ।

सडक निर्माण कार्य गर्दा वातावरण प्रभाव मूल्यांकन गर्नुपर्ने, प्राविधिकहरुले पूर्वमूल्यांकन गर्नुपर्ने, सडकमा कति रुखहरु मासिने हुन्, त्यस्ता मासिएका रुखहरुको संरक्षण कसरी गर्ने, सडकको तल र माथिको भागमा देखिने समस्या समाधानका लागि वृक्षरोपणलगायतका कामका लागि हरेक योजनाहरुमा अनिवार्य ५ प्रतिशत रकम विनियोजन गरिएको भए पनि त्यसको सदुपयोग हुन सकेको छैन ।

यसबारे सम्बन्धित सबै निकायहरुले तत्काल खोजी गरी रकमको पारदर्शिता गर्ने अभियान थाल्नुपर्ने देखिएको छ । अबका दिनमा यसतर्फ ध्यान जाओस् ।
– मधुरमण कार्की, पुल्चोक, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्