सिन्धुलीमा तराईबाट आउने तरकारी, फलफूल र खाद्यान्न एक साताका लागि प्रतिबन्ध

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्न लगाएतका बस्तुहरुमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका फलफुल, तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरु एक साता सम्म आयात तथा ढुवानीमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय दुई नम्बर प्रदेश र त्यसका विभिन्न जिल्लाहरुमा कोरोना भाईरस(कोभिड–१९) को संक्रमीतहरु भेटिन थालेको छ । यस्तो अवस्थामा तराईका जिल्लाहरुबाट यस्ता बस्तुहरु आयात तथा ढुवानी गर्दा सिन्धुली जिल्लामा पनि कोरोना भाईरस्को संक्रमण फैलिन सक्ने जोखिम देखिएकाले तराईबाट आयात हुदै आएका फलफुल, तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरु एक साता सम्म प्रतिबन्द लगाईको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

‘सिन्धुली जिल्लालाई कोरोना भाईरस्को उच्च जोखिमबाट जोगाउन तथा कोरोना भाईरस्को संक्रमण रोकथाम, नियन्त्रणका लागि आगामी एक साता सम्म यी बस्तुहरुमा प्रतिबन्द लगाईएको हो’ उहाँले भन्नुभयो । बैठकले कोरोना भाईरस्को संक्रमण फैलिन नदिन सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न, लकडाउनको कार्यान्वयनमा सहयोग गर्न,नागरिकहरुलाई भेला हुन नदिन, घरबाट बाहिर निस्कन नदिन राजनितिक दलले आफ्ना कार्यकर्ता, भातृसंगठनका कार्यकर्तालाई निर्देशन दिने पनि निर्णय भएको छ ।

बैठकमा बागमती प्रदेशसभा सदस्यद्धय लेखनाथ दाहाल (राजन), विनोद खड्का, जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्मा, कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री, नेपाली काग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल लगाएत अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, तिन ओटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।