डोटीका ३३० जनाको स्वाब रिपोर्ट नेगेटिभ

0
Shares

विमल विष्ट, डोटी । 

डोटी जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा बसेका ३३० जनामा गरिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गएको चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाब संङ्कलन गरेर लगेका मध्य सबै को स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा सबेकाहरु सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको छ, रिपोर्ट नेगेटिभ भएपनि सबैले सावधानी चै अपनाउनु पर्ने देखिन्छ ।”

उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव संङ्कलन गरेर परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,काठमाण्डौ पठाइएको थियो । स्वाव सङ्ककलन पछि परिक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेकाहरुको स्वाव परिक्षण पछि नतिजा नेगेटिभ आएको छ,घरैमा सुरक्षित बस्ने सर्त सहित उहाँहरुलाइ बिदाइ गरिएको छ ।” उता कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । ६० वर्षीया निज महिलामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी रहेको छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उहाँ १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टाइनमा बस्नु भएको थियो । १७ दिन क्वरेण्टाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उहाँलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी कैलालीकी ६० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बिरामीको संख्या ५ जना पुगेको छ । यसअधि कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुइजना, एकजना तेस्रो मुलुकबाट आएका र निज तेस्रो मुलकबाट आएका व्यक्तिबाट भाउजुमा कोरोना सरेका कारण चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएकाहरुको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सुधारोन्मुख रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बिरामी थपिदै जानथालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ, सबैले सावधानी अपनाउनु पर्ने बेला आएको छ ।” कोरोनाको संक्रमणका बिरामी थपिन थालेपछि यहाँको प्रदेश सरकारले लकडाउनको समयाबधी थप्ने तयारी गरीरहेको बताइएको छ ।