सनसिटी अपार्टमेन्टमा बस्ने एक हजार जनाको र्‍यापिड टेष्ट गर्नुपर्छ : नगरप्रमुख थापा

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा कोरोना संक्रमित भएको पुष्टिभएकाले सनसिटीभित्र बसोबास गर्ने सबैको र्यापिट टेस्ट गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले न्युज अफ नेपालसँग भन्नुभयो,‘अवस्था गम्भीर हुने खतरा छ, सनसिटीभित्र बस्ने सबैको र्यापिट टेस्ट गर्नुपर्छ, हामीले सनसिटी सञ्चालकहरुसँग कुरा गरिरहेका छौं ।’ नगरपालिकाले बारम्बार आग्रह गर्दा पनि वेवास्था गर्दाको परिणाम भएको बताउदै नगरप्रमुख थापाले खेलाची र कोरोनालाई ख्यालख्याल नसम्झिन नगरवासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘सचेत हुनुको विकल्प छैन, नचाहदा नहदै पनि नगरपालिकाभित्र कोरोना संक्रमित भएका व्यक्तिहरुको पुष्टि भएको छ, यो दुःखद छ, अझै कोही लुकेर बसेका छन भने तत्काल खबर गरिदिनु पर्‍यो ।’

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । अस्पताल भर्ना गरिएका तीन जना मध्ये एक जनाको रिपोर्ट आउन बाँकी छ । चैत्र ५ गते बेलायतबाट फर्किएका उनीहरुको सोमबार र्यापिड टेष्ट गर्ने क्रममा कोरोना पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण देखिएलगत्तै सोमबार नै प्रहरीले उनीहरुमा बस्दै आएको सनसिटी अपार्टमेन्टको ए बिल्डिङ सिल गरेको छ ।

सनसिटी अपार्टमेन्टमा हाल छ सय घरपरिवारको बसोबास गरहेको छ । नगरप्रमुख थापाका अनुसार सनसिटीभित्र करिब एक हजार जना भन्दा बढीको बसोबास गरेको छ ।