कोरोनाका कारण कालञ्जरमा महायज्ञ रोकियो, आयोजकले गरे क्षमापुजा

0
Shares

न्युज अफ नेपाल, पर्वत । 

विश्वभर फैलिएर आक्रान्त पारेको कोरोना भाइरस कोभिड–१९ का कारण बैशाख १ देखि कालाञ्जर क्षेत्रमा शुरु हुने भनिएको महायज्ञ उपयुक्त मितिमा गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर क्षमा पुजा गर्दै उपयुक्त मितिमा विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउनेगरी महायज्ञ लगाउने निर्णय गरेको हो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) को नेतृत्वमा सोमबार गएको टोलीले जलजला गाउँपालिका वडा नम्बर ६ मा पर्ने हम्पालको लेक (कालाञ्जर क्षेत्मा)  क्षमा पुजा गरेको थियो । यसअघि २०७७ साल बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन र विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउन बृहत महायज्ञको तयारी गरिएको थियो । गाउँपालिकाले महायज्ञलाई सहज गराउनका लागि ८० लाख रुपैयाँ लगाउन गरी कालाञ्जरक्षेत्रमै सडक सुविधासमेत पुर्‍याएको थियो ।

विश्वभर फैलिइरहेको कोरोनाका कारण महायज्ञ स्थगित गरि क्षमा पुजा गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिनुभयो । कालञ्जरमा सोमबार गिता पाठ, भागवत पाठसहित क्षमा पुजा गरिएको छ ।

अध्यक्ष मल्लले धार्मिक रुपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा समेत कालाञ्जर क्षेत्रको बर्णन गरिएकोले कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ । अध्यक्ष मल्ल आफुँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कालाञ्जर क्षेत्रको विकासमा जोड दिदै आउनुभएको छ । कालाञ्जर क्षेत्र मनमोहक, आकर्षक र त्यहाँबाट विभिन्न हिमऋृङ्खलाको अवलोकन गर्न सकिने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने देखिन्छ । विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको थियो । उक्त महायज्ञ कोरोनाका कारण प्रभावित भएपनि उपयुक्त मितिमा गरिने भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको उपस्थितिमा केही महिनाअघि समिति समेत गठन गरिएको थियो ।

हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालाञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ ।
हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।

समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।