असिनाले करोडौंको अन्नबाली र फलफूल नोक्सान

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

सोमबार राती परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौको क्षति पुगेको छ ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भिषण असिना पानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यसवर्ष यो चौथोपटक ठुलो असिना परेको हो । असिनाले खेतवारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँवाली, फलफुल र तरकारीमा ठुलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यतिवेला फल लाग्न थालेको सुन्तलामा ठुलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्‍याएको उहाँले बताउनुभयो । त्यसैगरी पर्वतको जलजला र बागलुङको ताराखोला आलु खेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा वर्खे आलुमा क्षति पुगेको छ ।

यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतवारीकै मकैमा असिनाले असर पुर्‍याएको छ । त्यस्तै बर्षे तरकारीमा पनि नराम्रोगरी असिनाले हानेको कृषकहरुले गुनासो गरेका छन्।

त्यस्तै व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरुलाई पनि ठुलो क्षति पुगेको छ । अहिले दुईवटै जिल्लामा गएराती परेको असिनाले पुर्‍याएको क्षतिको विवरण संकलनकोकाम भैरहेको केन्द्रले जनाएको छ । साँझ सम्म कतिको क्षति पुग्यो भन्ने विवरण आईपुग्ने कार्यालयप्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकहरुलाई लक डाउनले भन्दा असिनाले समस्या पारेको छ ।

झण्डै आधाघण्टा भन्दा बढि परेको असिनाका कारण मकै, फलफुल तरकारी पुरै नष्ट भएको मोदी गाउँपालिका वडा नं। ८ चित्रेकी शुशिलादेवी गुरुङले जानकारी दिनुभयो । कृषकहरुलाई ठुलो मार परेको उहाँको भनाई छ ।