भक्तपुरका आठ अस्पतालमा ९८ शैयाको आइसोलेसन र २३ शैयाको आइसीयु वार्ड तयार

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयको नेतृत्वमा अस्पतालको अनुगमन

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

स्वास्थ्य कार्यालय भक्तपुरले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अबस्था र तैयारी बारेमा बुझ्न अनुगमन थालेको छ ।स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले पहिलो दिन कारोना संक्रमणको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताल दुधपाटी,डा.ईवामुरा अस्पताल सल्लाघारी,सिद्धीस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन र सहजीकरण गरेको हो ।

आईसोलेस र आसीयु संचालन तथा तयारीको अबस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताउनुभयो ।भक्तपुरका ८ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ ।

हाल भक्तपुर अस्पतालमा १० , नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६,मध्यपुर अस्पताल ठिमीमा प्रस्ताबित ८,काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा ३ र सिद्धि स्मृति अस्पतालमा १ गरी ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले बताउनुभयो।

यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ शैयाको आइसोलेसन वार्ड समेत बिस्तार गर्न सकिने अबस्था रहेको उहाँको भनाई छ ।
यिनै अस्पतालमा २३ शैयाको आइसीयु संचालनको तयारी अबस्थामा रहेको र बाँकी १६ शैया संचालनको लागि प्रस्ताबित अबस्थामा रहेका छन् ।

जिल्लाको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो ।भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा.गौतमले बताउनुभयो ।मेसु डा. गौतमले आवश्यक परे त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्था समेत गर्ने जानकारी दिनुभयो ।

गौतमका अनुसार अस्पतालमा संक्रमितहरु आइहालेको अवस्थामा उचित उपचारको लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्था समेत गरिएको छ ।काठमाडौं मेडिकल अस्पतालका डा.बिनीता प्रधानले सरकारको स्वीकृति , सहयोग र सहजीकरण पाए कोभिड १९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा बिशेष अस्पतालको रुपमा सेवा गर्न पनि तयार रहेको बताउनुभयो ।

यसैगरी डा ईवामुरा अस्पतालका संचालक रञ्जित मारिखुले संकटमा बेला अस्पतालले बुताले भ्याएसम्म सक्दो स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताउनुभयो ।अनुगमन पछि स्वास्थ्य कार्यालयका प्रमुख मिजारले अस्पतालहरुले गरेको तैयारी प्रति प्रसन्नता ब्यक्त गर्दै थप सुधार,तैयारी र मापदण्डका बारेमा सुझाब दिईएको बताउनुभयो ।

उहाँले अस्पतालहरुको सकृयता र तैयारीमा हौसला थप्न, सक्दो सहयोग र सहजीकरण गर्न स्वास्थ्य कार्यालययले समन्वयात्मक गर्ने बताउनुभयो ।